५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा



अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।

डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको सङ्ख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । चैते पूर्णिमामा यहाँ पूजाका लागि ठूलो सङख्यामा भक्तजन आउने गर्दछन् । उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईकारुपमा पूजा गर्न देवचुली डाँडा आउँछन् ।

सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । थारु समुदायका मानिस देवचुली-६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधाना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन् । तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी पूजा गर्ने चलन छ ।

पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए । पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो । समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ ।

तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका-६ का अध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताउनुभयो ।

देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ । माइको पूजाआजा गर्नाले जीवन र परलोकमासमेत सुख मिल्ने धार्मिक मान्यता छ ।

१९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमश्रङ्खला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।

द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्व छ । गुफाभित्र मानिस, जनावरका आकृति देखिने र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा विशेष आकर्षणको केन्द्रविन्दु बनेको छ ।

पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटिरको दूरीमा देवचुली डाँडा पर्छ । कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली पुग्न सकिन्छ ।

सवारीसाधनमा जाने र पहाड पनि घुम्न रुचाउने बुलिङटार–४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट पनि चुली जान सक्छन् । कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरु चुलीको फेदीमा भेट हुन्छन् । पैदलयात्रुलाई सहज होस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङको व्यवस्था गरेको छ ।

चैत वैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउने पर्यटकलाई पुलकित बनाउने गर्दछ । तीनकन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण यहाँ आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको स्थानीय बताउँछन् । दलदले-बोझापोखरी-कोखेटार सडक, मुन्डे कीर्तिपुर सडकको निर्माणले पर्यटक यहाँ आउन सहज भएको छ । रासस




भर्खरै