११ पुष २०८१, बिहीबार
,
Latest
जापान एयरलाइन्समा साइबर आक्रमण राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक: सञ्चारमन्त्री गुरुङ अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना भैँसीपालनमा रमाउँदै घोरासैनी भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोधमा उत्रन भीम रावलको आव्हान नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले



अ+ अ-

सल्लेरी । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।

गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर आगोले जलेर नष्ट भएको हो ।

आगलागीबाट रु ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा रु २३ लाख, केशव राई र मकरबहादुर राईको नगद रु एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा रु २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खरबारीबाट सल्किएको आगो जङ्गलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो, अन्तत: बस्तीको आगो निभाइयो तर वनको आगो निभाउन सकिएको छैन ।”

स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उहाँले बताउनुभयो ।