२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ?

श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ?
अ अ+ अ-

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणलाई उत्सवका रुपमा लिँदै सरकारले आज सार्वजनिक बिदा दिएको छ । अमिरको भ्रमणलाई उपलब्धि बनाउने लक्ष्य सरकारले राखेका छ । विभिन्न सम्झौतामा हस्ताक्षरको तयारीसमेत गरिएको छ ।

विश्व शक्तिका राष्ट्रमा लगानी गरिरहेको मित्र राष्ट्र कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई कूटनीतिक र आर्थिक महत्वका साथ हेरिएको छ ।

नेपाल र कतारबीच लामो कूटनीतिक सम्बन्ध रहे पनि समयानुकूल श्रम सम्झौता हुन सकेको छैन । पहिलो पटक सन् २००५ मार्च २१ मा दुई देशबीच श्रम सम्झौता भएको थियो । यसलाई समयानुकूल तथा श्रमिकमैत्री बनाउन पुनरवलोकन गर्ने विषय बेलाबेला उठ्दै आएको छ । तर सम्झौताको १९ वर्षसम्म पनि पुनरावलोकन हुन सकेको छैन ।

कतारमा साढे ३ लाखभन्दा बढी श्रमिक छन् । उनीहरु न्यूनतम् ज्यालामा काम गर्न बाध्य छन् । दुई देशबीच समयसापेक्ष श्रम सम्झौता नहुँदा श्रमिक समस्यामा त परेका छन् नै देशले पनि अपेक्षित लाभ लिन सकेको छैन । कतारका अमिरको नेपाल भ्रमणका बेला श्रम सम्झौता गराउन सके नेपालले लाभ लिन सक्ने छ ।

सरकारले कतारमा श्रमिकहरू फ्री भिसा, फ्री टिकटमा पठाउने घोषणा पनि गरिसकेको छ । तर यो घोषणामा मात्रै सीमित छ । कार्यान्वयन हुन सकेको छैन । यहाँबाट श्रमिकहरू चर्को शुल्क तिरेर जान बाध्य छन् ।

कतारस्थित अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले भर्ना प्रक्रियाको सबै शुल्क बेहोरेर श्रमिक लैजान चाहे पनि श्रमिक भने दुईदेखि तीन लाख रूपैयाँसम्म बुझाएर जानुपरेका घटना थुप्रै छन् । भर्ना प्रक्रिया पारदर्शी नहुँदा श्रमिकहरूमाथि आर्थिक भार परिरहेको छ ।

कतार श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्यमध्ये एक हो । हरेक वर्ष ठूलो संख्यामा नेपाली श्रमिकहरू कतार जाने गरेका छन् । कतार पुगेका नेपाली श्रमिकले वार्षिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याउने गरेका छन् । जबकी कतारमा नेपालले अदक्ष श्रमिक मात्र पठाउने गरेको छ । दक्ष श्रमिक पठाउन नयाँ श्रम सम्झौता नै छैन ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कतारका लागि गत आर्थिक वर्षमा एक लाख ३३ हजार युवाले श्रम स्वीकृति लिएका थिए । २०८० वैशाखदेखि चैतसम्म पनि कतारका लागि एक लाख ३३ हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन् । ठूलो संख्यामा नेपालीहरू पुग्ने यो मुलुकमा श्रमिकको सुरक्षाको विषयमा भने प्रश्न उठ्दै आएको छ ।

श्रम सम्झौता पुनरावलोकन गरेर कतारलाई नेपाल श्रमिकको प्रमुख आकर्षक गन्तव्य त बताउन सकिन्छ नै त्यसबाहेक पनि कतारबाट नेपालले धेरै लाभ लिन सक्ने देखिएको छ ।

कतारको कुल गार्हस्थ्य उत्पादन २४४ दशमलव ६९ अर्ब अमेरिकी डलरको छ । जीडीपीका आधारमा प्रतिव्यक्ति आय ८१ हजार ४०० पुगेको छ । आन्तरिक जनसंख्या जम्मा ३ लाख हाराहारी छ ।

कतारको प्रभाव विश्वमञ्चहरुमा पनि छ । कतारले विश्वमा आफूलाई कूटनीतिक, आर्थिक सबै हिसाबले शक्तिशाली बनाउँदै लगेको छ । सन् २०२२ मा सफल रूपमा फिफा विश्वकपको आयोजना गरिसक्यो । यसक्रममा पूर्वाधार निर्माण र अन्य कामको लागि करिब २२० बिलियन अमेरिकी डलर कतारले खर्च गर्‍यो ।

पछिल्लो समय कतारले विश्व बजारमा लगानी बढाइरहेको छ । एसियाली देशमा मात्रै होइन, कतारको लगानी अमेरिका, बेलायत जस्ता ठूला देशमा अर्बौं डलर पुगिसकेको छ । कतारले विश्व बजारमा लगानी गर्नको लागि सन् २००५ मा कतार इन्भेस्टमेन्ट अथोरिटी बनाएको थियो । जस मार्फत गरिएको लगानी विश्वका ८० देशमा फैलिसकेको छ ।

लगानी सम्मेलनको सँघारमा हुन लागेको भ्रमणलाई उपयोग गर्न सके नेपाललाई आर्थिक रूपमा माथि उठ्न समय नलाग्न सक्छ । नेपालले अहिलेसम्म कतारलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै हेरेको छ ।

थानीको भ्रमणलाई उपयोग गर्न सके र नेपाल वैदेशिक लगानीको लागि उपयुक्त थलो हो, भन्ने विश्वास दिलाउन सके यो नेपालका लागि सुनौलो मौका बन्नसक्छ ।

वैदेशिक रोजगारीले गर्दा नेपाल–कतारको सम्बन्ध जनता–जनतासम्म फैलिएको छ । केही वर्षअघि साढे चार लाखभन्दा बढी नेपाली कतारमा रोजगारी गरिरहेका थिए । अहिले तीन लाख ६५ हजार हाराहारी नेपालीले कतारमा श्रम गरेर नेपालको आर्थिक उन्नतिमा टेको दिइरहेका छन् । कतारमा रहेका एक जना व्यक्तिको परिवारमा चार जनामात्रै सदस्य जोड्दा पनि करिब १४ लाख नेपालीको कतारसँग साइनो गाँसिएको छ ।

दक्ष जनशक्ति कतारले नेपालबाट लगिरहेको छैन । अर्धदक्ष जनशक्ति कतार पठाएर त्यहाँको अर्थतन्त्रमा योगदान दिइरहेको नेपालले अन्य फाइदा उठाउन सकेको छैन । दैनिक सयौं जनशक्ति कतार पठाउने नेपालले व्यापारिक फाइदा भने लिन सकेको छैन ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म जम्मा ९ करोड १९ लाख रुपैयाँको वस्तुमात्रै कतार निर्यात भएको छ । यो अवधिमा कतारबाट भने १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँको वस्तु आएको छ ।
कतारी राजाको भ्रमणमा नेपालले कृषिजन्य वस्तुको निर्यातको विषय उठाउन सक्छ । यसमा पूर्वाधारका आयोजनामा जस्तो यसमा ठूल्ठूला अध्ययन र सम्झौताको आवश्यकता पनि पर्दैन । गुणस्तरीय कृषिजन्य वस्तुबाट कतारलाई जोड्दा मध्यपूर्वका धेरै देश जोडिन सक्छन् । कतारमा आन्तरिक कम्पनी मात्रै छैनन् । संसारभरका ठूला यूरोपेली, अमेरिकी कम्पनी पनि छन् ।

भ्रमणका क्रममा विदेशमा रहेका नेपाली जनशक्तिको सीप विकासमा नेपालले कुरा राख्न सक्छ । आफ्नो श्रमशक्तिको सीप वृद्धिविकासमा यो भ्रमणलाई नेपालले उपयोग गर्न सक्ने प्रशस्त ठाउँ देखिन्छ ।

पूर्वाधार क्षेत्रमा पनि कतार उदाहरणीय छ । उसले युग सुहाउँदो आधुनिक प्रविधिसहितको बाटोघाटो निर्माण गरेको छ । विमानस्थल सोही अनुसारका छन् । गुणस्तरीय सडक र यातायात क्षेत्रमा क्रान्ति नै गरेको छ । पर्यटकीय क्षेत्रमा पनि नेपाल र कतारबीच सहकार्य हुनसक्छ ।

कतार विश्वका लागि पर्यटनको ठूलो गन्तव्य पनि हो । सन् २०२३ मा मात्रै कतारमा ४० लाख ५३ हजार पर्यटक भित्रिएको तथ्यांक छ । यो वर्षको ३ महिनामा कतारले १३ लाख पर्यटक भित्र्याएको छ ।

इन्धन विशेषगरी ग्यास निर्यात गरेर कतारले ३/४ दशकको अवधिमा जुन प्रगति गरेको छ, त्यो विश्वकै लागि उदाहरणीय छ । यसलाई पाठको रूपमा लिएर नेपालले बिजुली उत्पादनमा लगानी बढाउन सक्छ । नेपालको जलविद्युत्को क्षेत्रमा पनि कतारले लगानी गर्न सक्छ । यस्ता विषयमा नेपाल सरकारले गम्भीर कतारसँग कुरा गर्न सक्नुपर्छ ।

अर्को एउटा महत्वपूर्ण विषय नेपाली विद्यार्थी विपिन जोशी अहिले पनि गाजाका हमास लडाकुको नियन्त्रणमा छन् । ९ महिनादेखि हमासको बन्धकमा रहेका विपिनको रिहाइको पहल सफल भएको छैन । कतार र हमासबीचको सम्बन्ध निकै सुमधुर छ । कतारले भनेको हमासले मान्ने भएकाले अमिरको भ्रमणका क्रममा यो विषय उठाएर एक नेपाली युवाको जीवनरक्षा गर्ने दायित्व सरकारले भुल्नु हुँदैन ।