• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती



मध्यविन्दु । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो ।

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । पाँच घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ ।

कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताउनुभयो ।

“होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौँ”, उहाँले भन्नुभयो, “नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ ।”

होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ । होमस्टेले दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताउनुभयो ।

जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिनुभयो ।

होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ । साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ ।

दराई बस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ । होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ ।

दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व)सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ । विसं २०७८ को जनगणना अनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार छ सय ९५ मात्र रहेको छ । रासस