१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २८ गते हालसम्मकै विशाल जनप्रदर्शन गर्दै प्रचण्ड-नेपाल पक्ष



अ+ अ-

काठमाडौं । आगामी माघ २८ गते नेकपाका प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने भएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सो विशाल जनप्रदर्शन गर्न लागिएको पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयले जनाएको हो । बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ । 

बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गर्दै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ । 
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन् । 

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि त्यसको सवैतिरबाट विरोध हुँदै आएको छ ।