एजेन्सी । मुम्बई प्रहरीले सलमान खानको घर बाहिर गोली हानाहान गर्ने अर्को संदिग्धलाई हरियाणाबाट पक्राउ गरेको छ । उक्त व्यक्तिको नाम भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
प्रहरीले उनलाई मुम्बई ल्याएको छ । सोधपुछका क्रममा उनले मुख्य अभियुक्त विक्की र सागरलाई गोली चलाउन १ लाख रुपैयाँ दिएको खुलासा भएको छ । त्यसपछि थप रकम दिने वाचा गरिएको थियो ।
प्रहरी स्रोतका अनुसार यी संदिग्ध अमेरिकामा बसिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईसँग सम्पर्कमा थिए ।
हत्या गर्ने नियतले होइन डराउने उद्देश्यले गोली प्रहार
यसअघि १६ अप्रिलमा मुद्दाका दुई मुख्य आरोपी सागर पाल र विकास उर्फ विक्की गुप्तालाई गुजरातबाट पक्राउ गरिएको थियो । दुवै बिहारका बासिन्दा हुन् । दुवैले हरियाणाबाट आएका संदिग्धको नाम प्रहरीलाई बताए ।
प्रहरीले सागर पालका भाइ सोनु पालसहित ७ जनालाई सोधपुछका लागि मुम्बई बोलाएको छ र उनीहरुसँग सोधपुछ भइरहेको छ ।
यहाँ, मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूले बुधबार भने कि दुवै अभियुक्त सलमानलाई मार्न चाहँदैनन् तर उनलाई डराउन चाहन्थे । सोही कारण उनको घरबाहिर गोली चलाइएको थियो ।