२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह



अ+ अ-

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमश: चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबीच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा छलफल पनि बढाएको हो । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित सोमबार थालिएको एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्मा बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका काम एकीकृत घुम्ती सेवामा समावेश गरिएको छ । उक्त सेवाअन्तर्गत जन्मदर्तासहितका घटना दर्ता, नागरिकता तथा अन्य महत्वपूर्ण कामका निम्ति दैनिक हुँदै आएका सिफारिसका अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितका कार्यक्रम समाविष्ट छन् ।

यसैगरी कृषिसम्बन्धी विज्ञबाट माटो परीक्षण, कृषि मिटर सिफारिस र तरकारीका मिनी कीट (बीउ) वितरण गरिँदै छ । घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम पनि छन् । यसै कार्यक्रममा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका वडा कार्यालयबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवा पनि समावेश गरिएको छ ।

एकै ठाउँमा विविध सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको मटिहानी नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उहाँ बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र सम्पादित कामबारे आम उपभोक्ताको धारणा समेट्न यो कार्यक्रम सहयोगी हुने जनाएको छ । आफ्नै बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका अधिकृत कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता र कामबारे टिप्पणी गर्ने भएका छन् । मुख्यरुपमा जनसरोकारका काममा जनसहभागिता बढाउने उद्देश्यसाथ सुरु गरिएको एकीकृत घुम्ती सेवाको कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा नौ वडाका ५० भन्दा बढी बस्ती छन् । यो सेवा सबै बस्तीमा पुर्‍याइने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

जिल्लाको दक्षिणपूर्वमा अवस्थित भारतसँग सीमा जोडिएको मटिहानीमा प्रारम्भ भएको यो कार्यक्रमको प्रभावकारिताबारे अब छिमेकका स्थानीयतहका सर्वसधारणमा पनि चासो बढेको छ । जलेश्वर, पिपरासहितका मटिहानीसँग सीमा जोडिएका स्थानीयतहका सर्वसाधारणले आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम आफ्ना गाउँठाउँमा पनि शीघ्र आयोजना गर्न अनुरोध गर्न थालेका छन् । रासस




भर्खरै