२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने



अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।

पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।

विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आवमा मन्दिर परिसरमा रु १० लाख  लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुुभयो । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताउनुुभयो ।

प्राचीनकालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताउनुुभयो । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताउनुुभयो । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उहाँको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८/१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुुलभुुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताउनुुभयो । उहाँका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट रु चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

“धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ”, उहाँले भन्नुुभयो, “यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।” रासस