२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने



अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।

पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।

विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आवमा मन्दिर परिसरमा रु १० लाख  लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुुभयो । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताउनुुभयो ।

प्राचीनकालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताउनुुभयो । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताउनुुभयो । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उहाँको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८/१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुुलभुुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताउनुुभयो । उहाँका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट रु चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

“धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ”, उहाँले भन्नुुभयो, “यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।” रासस