• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले हालसम्म सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साथ र समर्थन रहने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतकारुपमा संसारभर पुर्‍याउनेछौँ । साथै अभियानले भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्न सहयोग पुग्ने र देशको विकासमा थप टेवा पुग्नेछ ।”

साथै यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्ने वातावरणलाई प्रोत्साहित गर्न र लगानीको उचित प्रतिफल आफ्नै पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित पनि गर्नेछ ।

भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराईसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

विश्वका २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको बैंकक भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपाली मूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । रासस