• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

मछिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि



मोरङ । मछिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मछिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।

प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मछिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मछिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितका प्लेयर अफ द म्याच मछिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो ।