• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण



जनकपुर – करिब १६ करोड रुपैयाँ बराबरको धनुषा प्रसूति केन्द्रको उद्‍घाटन भएसँगै नेपालको धनुषा जिल्लामा मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयद्वारा कोष उपलब्ध गराइएको र नेपालका जनताद्वारा निर्मित यो केन्द्र जनकपुर क्षेत्रका हजारौँ महिला तथा शिशुका निम्ति स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण स्रोत हुनेछ ।

यस प्रसूति केन्द्रको सञ्चालन मधेस प्रदेशमा रहेको धनुषा जिल्लाको जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्नेछ । सो प्रतिष्ठान चिकित्सा शिक्षा प्रदान गर्ने सरकारी संस्था हो जसले जनकपुर प्रादेशिक अस्पतालसँगको संयोजनमा काम गर्दछ । यो विस्तार उक्त क्षेत्रमा नेपालीहरूले मातृ स्वास्थ्यको सम्बन्धमा सामना गरिरहेका गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीहरूप्रतिको प्रत्यक्ष प्रतिक्रिया हो ।

यस नयाँ प्रसूति केन्द्रले उपरोक्त अस्पतालमा ७२ भन्दा बढी शय्या थप गरी आधारभूत स्वास्थ्य सेवाहरूमा मधेस प्रदेशको पहुँचलाई विस्तार गर्नेछ । यो केन्द्र ठुलो सङ्ख्याका बिरामीलाई सेवा प्रदान गर्न सुसज्जित छ र यहाँका कर्मचारीका रूपमा यस क्षेत्रको मातृशिशु स्वास्थ्यलाई सुधार गर्न प्रतिबद्ध सरकारी स्वास्थ्यकर्मीहरूको समर्पित समूह रहेको छ । केन्द्रले यस पहलमार्फत नेपालमा मातृशिशु स्याहारको क्षेत्रमा उत्कृष्टताको नमुना बन्ने लक्ष्य लिएको छ ।

“धनुषा प्रसूति केन्द्र नेपालमा मातृशिशु स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भन्नुभयो । “यसका ढोका खुला भएसँगै यसले गर्भावस्था र प्रसवसँग सम्बन्धित जोखिमहरूलाई उल्लेखनीय रूपमा कम गर्ने लक्ष्य राखी सुधारिएको स्वास्थ्य सेवामा पहुँचको नयाँ युगको सङ्केत गरेको छ । यो भवन एउटा संरचना मात्र होइन; यसले त आगामी धेरै पुस्ताभर थुप्रै नेपाली आमा र उहाँहरूका नवजात शिशुको सुस्वास्थ्यको सुरक्षा गर्ने प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ ।”

प्रसवोत्तर स्वास्थ्य तथा नवजात शिशुको स्वास्थ्यमा सुधार गर्ने र बाल मृत्युदर न्यूनीकरणमा योगदान पुर्‍याउने सङ्केत गरेको यस केन्द्रको प्रभाव प्रसूतिभन्दा परसम्म फैलिएको छ । यो ७६ वर्षदेखिको मित्रतामा अमेरिका र नेपालबिच रहेको विशेष साझेदारीको अर्को उत्कृष्ट उदाहरण हो ।

अमेरिकी रक्षा मन्त्रालयले गत दुई वर्षमा सहायता उपलब्ध गराएको यो दोस्रो प्रसूति केन्द्र हो । मोरङमा अवस्थित प्रसूति केन्द्रको स्थापनामा पनि अमेरिकाले करिब १६ करोड रुपैयाँ उपलब्ध गराएको थियो । सन् २०२२ मा निर्माण सम्पन्न भएको र ७२ वटा शय्या रहेको उक्त केन्द्रले हजारौँ महिलालाई सेवा प्रदान गर्दछ ।