• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

मुम्बई इन्डियन्सले हैदरावादसँग खेल हार्नुको कारण



एजेन्सी । बुधबार इन्डियन प्रिमियर लिग–२०२४ मा सनराइजर्स हैदरावादले पहिलो जित हासिल गर्यो । टोलीले जारी सिजनको आठौं खेलमा मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको हो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका थिए । ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

हैदराबादले आईपीएल इतिहासमा सर्वाधिक रन बनायो । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बैंगलोरले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच अभिषेक शर्मा भए ।

जवाफमा उत्कृष्ट ब्याटिङ गरेपनि मुम्बई इन्डियन्सले लक्ष्यभन्दा ३२ रन कम बनाउदा हार्न पुग्यो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

हैदराबादबाट ३ अर्धशतक, मुम्बईबाट एक

हैदरावादका लागि अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिस हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए । मुम्बईका हार्दिक पाण्डेय, जेराल्ड कुटिज र पियुष चावलाले एक एक विकेट लिए ।

मुम्बई इन्डियन्सका तर्फबाट तिलक वर्माले ३४ बलमा ६४ रन, टिम डेभिडले २२ बलमा ४४ र इशान किशनले १३ बलमा ३० रन बनाए । हैदरावादका लागि प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

मुम्बईको हारको कारण

हेडको क्याच छोडियो:

दोस्रो ओभरमा हार्दिक पाण्ड्याको बलमा टिम डेभिडले ट्राभिस हेडको क्याच छोडेका थिए । यसपछि उनले २४ बलमा ६२ रनको विस्फोटक इनिङ खेले।

मयंकको विकेट पछि कुनै दबाब थिएन:

हार्दिक पाण्ड्याले पाँचौं ओभरको पहिलो बलमा मयंक अग्रवालको विकेट लिएका थिए । त्यतिबेला हैदरावादको स्कोर ४५ रन थियो । छैटौं ओभरमा बलिङ गर्न आएका जेराल्ड कुट्जीले दबाब सिर्जना गर्न सकेनन् । उनले उक्त ओभरमा २४ रन दिएका थिए । पावरप्ले सकिएपछि अभिषेक शर्मा र ट्राभिस हेडले आक्रमक ब्याटिङ गरे ।

अन्तिम ९ ओभरमा विकेट लिन सकेन:

मुम्बईले अन्तिम ९ ओभरमा कुनै विकेट लिन सकेन । यस्तो अवस्थामा हैदरावाद प्रतियोगिताको सबैभन्दा ठूलो स्कोर बनाउन सफल भयो।

बुमराह बाहेक सबै बलर महँगो भए: जसप्रित बुमराह बाहेक मुम्बईका सबै बलरहरूले १० भन्दा बढीको ईकोनोमिमा रन दिएका थिए । बुमराहले ४ ओभरमा ३६ रन दिए । क्वाना माफाकाले ४ ओभरमा ६६, कुट्जीले ५७ र हार्दिकले ४६ रन दिएका थिए ।

मुम्बईका ब्याट्सम्यानले विस्फोटक सुरुवातलाई अगाडि बढाउन सकेनन्:

२७८ रनको लक्ष्य पाएको मुम्बईले जवाफमा विस्फोटक सुरुवात गरेको थियो । रोहित र किशनको जोडीले २० बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो ओभरमा टोलीले ५० रन बनाएको थियो । त्यसपछि पनि तिलक र नमनले ११ ओभरमा टोलीको स्कोर १५० रनमा पुर्याएका थिए । तर टोलीका फिनिशरले राम्रो नखेल्दा खेल जित्न सकेनन् ।

कप्तान हार्दिकको ढिलो ब्याटिङ:

रन चेजमा मुम्बईका ७ मध्ये ६ ब्याट्सम्यानले १८०ं को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । तर कप्तान हार्दिक पाण्ड्याले १२० को स्ट्राइक रेटमा रन बनाए । उनले २० बलमा २४ रन बनाए, जसले दुवै टोलीबीचको नतिजा निम्त्यायो।