• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

गठबन्धनमा विश्वासको संकट, कांग्रेसलाई भ्रम चिर्ने अवसर



फाईल फोटो

काठमाडौं । आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम २ र प्रदेशसभातर्फ बझाङ १ (क)को उपनिर्वाचनमा सत्ता गठबन्धन पाँच दलका छुट्टाछु्ट्टै उम्मेदवार हुने भएका छन् । गठबन्धन दलमा साझा उम्मेदवार बनाउने विषयमा सहमति नहुँदा एक्लाएक्लै उम्मेदवारी घोषणाको होड चलेको छ । यसले गठबन्धनमा विश्वासको संकट त देखिएको छ नै फुटको बिजारोपण पनि यही विषय बन्न सक्छ ।

इलाम र बझाङमा गठबन्धनका दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नै घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको खोजीमा छ । उसले शनिबारसम्म उम्मेदवार तय गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले निर्वाचनमा एक्लै उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार तय गरेको छैन । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ ।

यसरी गठबन्धन दलहरुले एक्लाएक्लै उम्मेदवारी दिने भनेको सुन्दा मित्रवत् प्रतिस्पर्धा हुने बुझिन्छ । तर गठबन्धनभित्र यसभित्र अर्कै खेल रहेको अर्थ लगाउनेहरु पनि छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेलाई दबाबमा राख्न मात्र उम्मेदवारी घोषणा गरेको हुनसक्छ । किनकी यो निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको ठाउँ हो । कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि एमालेका सुवासचन्द्र नेम्वाङले इलामबाट चुनाव जितेका थिए । अहिले पुरानो गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेको अवस्थामा एमालेका लागि यो क्षेत्र सहज छ । तर पनि प्रदेशका मुख्यमन्त्रीसहितको भागबन्डा मिलाउन एमालेलाई दबाब दिने रणनीति अरु दलले बनाएको सहजै बुझ्न सकिन्छ ।

चुनावमा गठबन्धन गरेर जानु पक्कै पनि लोकतान्त्रिक संस्कार होइन । तर यो २०७४ सालको निर्वाचनदेखि दोहोरिँदै आएको छ । २०७४ सालमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो भने २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धन । यसले लोकतान्त्रिक संस्कारको धज्जी त उडाएको थियो नै मतदाताले निष्पक्षढंगले जनप्रतिनिधि चयनमा समेत अवरोध पुगेको थियो । अब यो उपचुनावदेखि चुनावी गठबन्धन नहुने हो भने दलहरुले आ–आफ्नो हैसियतसमेत थाहा पाउने छ । यसले दलहरुलाई सुधारिनसमेत बाध्य पार्न सक्छ ।

त्यसो त इलामको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निकै मेहनत गरी प्रचार सुरु गरिसकेको छ । यद्यपी उसले अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन । तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो लोकप्रियता परीक्षणको बहाना पनि यो उपनिर्वाचन हुनसक्छ । गठबन्धनका अन्य दलबीच चुनावी तालमेल भए पनि रास्वपाले आफ्नो जनमत परीक्षणका लागि मित्रवत् प्रतिस्पर्धाका रुपमा छुट्टै उम्मेदवारी दिनमा दुईमतसमेत देखिँदैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । यद्यपी उसले अहिलेसम्म उम्मेदवार तोक्न सकेको छैन । तर पनि महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने निर्णय गराएको कांग्रेसले यो चुनावमा जित हात पारेर एक्लै प्रतिस्पर्धा गरेर पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टि गर्नुपर्ने छ । त्यति मात्र होइन, चुनावी गठबन्धन नगर्दा नै फाइदा हुन्छ भन्ने पक्षलाई त झन् यो उपनिर्वाचनलाई जीवनमरणको सवाल नै बनाउनुपर्ने अवस्था छ । अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल भएको आरोप खेप्दै आएको कांग्रेसलाई त्यो भ्रम चिर्नुपर्ने चुनौती पनि छ ।

चुनावी गठबन्धन गरेर पनि दीर्घकालीन हुन नसकेको यथार्थ त छँदैछ जनतामा सकारात्मक भावनासमेत सिर्जना गरेको छैन । गठबन्धन गरेपछि जनताको मन नजिते पनि चुनाव जितिहालिन्छ भन्ने भाष्य छ । यसले जनताको लोकतान्त्रिक अधिकार कुण्ठित भएको छ । दलहरु छुट्टाछुट्टै उम्मेदवारी लिएर चुनावमा गए त्यसले वास्तविक परीक्षासमेत हुने छ ।

जे भए पनि यो उपनिर्वाचनमा गठबन्धन दलले छुट्टाछुट्टै उम्मेदवारी दिने निर्णय गर्नुले गठबन्धनभित्र अविश्वास पैदा भएको अर्थका रुपमा लिइएको छ । गठबन्धनभित्रको अविश्वास र आशंकाका कारण छुट्टाछुट्टै उम्मेदवारीको होड चलेको छ । यही विषयलाई लिएर गठबन्धनमा थप अविश्वास चुलिने संकेत देखिएको छ ।

अहिले सबैभन्दा बढी चर्चा इलाम क्षेत्र नं. २ को छ । यो क्षेत्रमा २०४८ सालदेखि नै एमालेले जित्दै आएको छ । त्यसमाथि २०५६ सालपछि त सुवास नेम्वाङले नै लगातार जित्दै आएका थिए । अघिल्लो निर्वाचनमा एमालेका नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रत्यासी कांग्रेसका जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यसबेला खड्कालाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

अघिल्लो निर्वाचनमा समानुपातिक मतको हिसाव हेर्ने हो भने पनि एमालेले सबैभन्दा बढी २६ हजार ५ सय ६२ मत ल्याएको थियो । दोस्रो भएको २२ हजार ३ सय ३३ मत ल्याउँदा माओवादी केन्द्रले ५ हजार १ सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६ र नेकपा एसले ५ सय ८६ मत ल्याएको थियो । तर, अहिले एमालेको मत पहिचानवादीहरूले काट्न सक्ने विश्लेषण भइरहेको छ । पहिलो पटक इलाममा चुनावी मैदानमा उत्रिएको रास्वपा पनि तनहुँमा झैं बाजी पर्ने दाउमा छ ।