• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

रानाथारू समुदायमा होलीको उल्लास



बेदकोट । परम्परागत थारु पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारु समुदायको होलीको दृश्य हो ।

अन्य समुदायभन्दा यो समुदायले होली भिन्न तरिकाले मनाउँछन् । थारुबस्तीमा होलीको उल्लास छ । नयाँ कटानका स्थानीय बासिन्दा चेतराम रानाका अनुसार यस समुदायमा एक महिना लामो अवधिसम्म होली मनाउने प्रचलन रहेको छ । “पुर्खौंदेखि चलिआएको चलनअनुसार परम्परागत तरिकाले होली मनाउँछौँ । माघ पूर्णिमादेखि होली सुरु हुन्छ,” उहाँले भन्नुभयो, “गुइँठा राखेर होलीको सुरुआत गरिन्छ ।”

गाईवस्तुको गोबरबाट बनाइने गुइँठाको जोहो होलीअघिदेखि नै गर्ने गरिन्छ । रानाथारु समुदायको प्रत्येक घरमा गोबर सुकाएर गुइँठा बनाइन्छ । गुइँठा नबनाएकाहरुले अरूको घरबाट ल्याएर भए पनि माघ पूर्णिमामा होलीमा राख्ने प्रचलन रहेको रानाले बताउनुभयो ।

“एक महिनाभर राति मात्रै होली खेलिन्छ । जसको घरमा खेलिन्छ उसैको घरमा मिठाई खाइन्छ,” उहाँले भन्नुभयो, “फागुन पूर्णिमामा होली जलाइन्छ ।” रानाका अनुसार माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म मनाइने होलीलाई ‘जिन्दा होली’ भनिन्छ । होली जलाएपछि अर्को दिन बेलुका गुइँठाको खरानीको टीका लगाइन्छ ।

“होली हाल्दा र जलाउँदा त्यहाँ नाचगान गर्ने गरिन्छ,” स्थानीय प्रिया रानाले भन्नुभयो, “त्यहाँबाट गीत गाउँदै गाउँको मूलीको घरमा आएर होली खेल्ने प्रचलन छ ।” त्यसपछि अर्कोे दिनदेखि घरघरमा गएर होली खेल्ने गरिन्छ । चेलीबेटीले सुरुमै घरमा गएर होली खेल्नका लागि प्रस्ताव राख्छन् । घरमूलीले स्वीकृत गरेपछि मात्रै त्यो घरमा होली खेल्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

प्रियाका अनुसार घरघरमा गएर एक सातासम्म खेल्ने होलीलाई ‘मरी होली’ भनिन्छ । गत सोमबारदेखि सुरु भएको रानाथारु समुदायको यो होली आगामी सोमबारसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

महिला थारु परम्परागत पहिरन घघरिया, अगिया, उडनिया तथा पैडामा सजिएर होली गीत गाउँदै झुम्मिछन् । पुरुषले स्थानीय भाषामा झगिया लगाए होली खेल्छन् । होलीमा बाजे, छोरा र नातिनातिना तीनै पुस्ताको सहभागीताले संस्कृति पुस्तान्तरणमा सहज भएको बसन्ती रानाले बताउनुभयो । “बुढापाकासँगै बालबालिका पनि होलीमा सहभागी भएका छन् । यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे ज्ञान हुन्छ,” उहाँले भन्नुभयो, “यसले रमाइलोसागै संस्कृति संरक्षणमा टेवा पुर्‍याएको छ ।” रासस