• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु ★   दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन

रानाथारू समुदायमा होलीको उल्लास



बेदकोट । परम्परागत थारु पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारु समुदायको होलीको दृश्य हो ।

अन्य समुदायभन्दा यो समुदायले होली भिन्न तरिकाले मनाउँछन् । थारुबस्तीमा होलीको उल्लास छ । नयाँ कटानका स्थानीय बासिन्दा चेतराम रानाका अनुसार यस समुदायमा एक महिना लामो अवधिसम्म होली मनाउने प्रचलन रहेको छ । “पुर्खौंदेखि चलिआएको चलनअनुसार परम्परागत तरिकाले होली मनाउँछौँ । माघ पूर्णिमादेखि होली सुरु हुन्छ,” उहाँले भन्नुभयो, “गुइँठा राखेर होलीको सुरुआत गरिन्छ ।”

गाईवस्तुको गोबरबाट बनाइने गुइँठाको जोहो होलीअघिदेखि नै गर्ने गरिन्छ । रानाथारु समुदायको प्रत्येक घरमा गोबर सुकाएर गुइँठा बनाइन्छ । गुइँठा नबनाएकाहरुले अरूको घरबाट ल्याएर भए पनि माघ पूर्णिमामा होलीमा राख्ने प्रचलन रहेको रानाले बताउनुभयो ।

“एक महिनाभर राति मात्रै होली खेलिन्छ । जसको घरमा खेलिन्छ उसैको घरमा मिठाई खाइन्छ,” उहाँले भन्नुभयो, “फागुन पूर्णिमामा होली जलाइन्छ ।” रानाका अनुसार माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म मनाइने होलीलाई ‘जिन्दा होली’ भनिन्छ । होली जलाएपछि अर्को दिन बेलुका गुइँठाको खरानीको टीका लगाइन्छ ।

“होली हाल्दा र जलाउँदा त्यहाँ नाचगान गर्ने गरिन्छ,” स्थानीय प्रिया रानाले भन्नुभयो, “त्यहाँबाट गीत गाउँदै गाउँको मूलीको घरमा आएर होली खेल्ने प्रचलन छ ।” त्यसपछि अर्कोे दिनदेखि घरघरमा गएर होली खेल्ने गरिन्छ । चेलीबेटीले सुरुमै घरमा गएर होली खेल्नका लागि प्रस्ताव राख्छन् । घरमूलीले स्वीकृत गरेपछि मात्रै त्यो घरमा होली खेल्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

प्रियाका अनुसार घरघरमा गएर एक सातासम्म खेल्ने होलीलाई ‘मरी होली’ भनिन्छ । गत सोमबारदेखि सुरु भएको रानाथारु समुदायको यो होली आगामी सोमबारसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

महिला थारु परम्परागत पहिरन घघरिया, अगिया, उडनिया तथा पैडामा सजिएर होली गीत गाउँदै झुम्मिछन् । पुरुषले स्थानीय भाषामा झगिया लगाए होली खेल्छन् । होलीमा बाजे, छोरा र नातिनातिना तीनै पुस्ताको सहभागीताले संस्कृति पुस्तान्तरणमा सहज भएको बसन्ती रानाले बताउनुभयो । “बुढापाकासँगै बालबालिका पनि होलीमा सहभागी भएका छन् । यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे ज्ञान हुन्छ,” उहाँले भन्नुभयो, “यसले रमाइलोसागै संस्कृति संरक्षणमा टेवा पुर्‍याएको छ ।” रासस