• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा बागलुङका युवा



गलकोट (बागलुङ) : मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…

औँला काटी कलम बनावे । रगत के मसिया बनावे… यै हो ।।

हाय हाय रगत के मसिया बनावे सखियाँ ।

धड्कन लाग्यो छाती हो…

छाला काटी काजत बनावे । विरहको चिठ्ठी लेखी भेज्यो…यै हो

हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ

धड्कन लाग्यो छाती हो…

हरेक वर्ष फागुपूर्णिमाका अवसरमा बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गीत हो यो । पछिल्लो समय यहाँका युवा पुराना पुस्ताको नासो संरक्षणमा लागेका छन् ।

फागु गीत मादलको तालमा लयबद्ध बनाउँदै गाउँदै होलीको रङ्गसँग रमाउँदै गाइने गीतलाई जीवन्तता दिन बागलुङका नेवार समुदायका युवायुवती जुटेका हुन् । संरक्षित यही ऐतिहासिक फागु गीतले पछिल्लो पुस्ताका युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्दै आएको छ ।

मादल र झ्याली बजाउँदै पुराना पुस्ता फागु भट्टाउँछन् भने नयाँ पुस्ता ती भाका छोप्दै गाउँने कार्यले नारायणचोक प्रत्येक वर्ष रङ्गिने गरेको छ । यहाँका नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाउन नेपाल भाष मंकाः खलःले अग्रसरता लिँदै आएको छ ।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु खेलिन्छ । पछिल्लो समय अन्य समुदायका व्यक्तिको उपस्थितिले पर्वलाई थप उत्सहपूर्ण र मर्यादित मनाउँदै लगेको मंकाः खलःका अध्यक्ष मुकेश राजभण्डारीले बताउनुभयो ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँको भनाइ छ । पाकादेखि युवा पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा बागलुङ बजारमा फागुको छुट्टै रौनकता देखिने राजभण्डारीले बताउनुभयो ।

सबै समुदायका व्यक्ति एकैठाउँमा जम्मा भएर, नाच्दै, गाउँदै, रङसँग रमाउँदै यो पर्व मनाउने गरिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । यसरी सभ्य भएर रमाइलो गरिरहँदा संस्कृतिका साथै पुराना परम्परा र लोक भाकासमेत संरक्षण भइरहेको उहाँको भनाइ छ ।

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंकाः खलःको आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत बर्सैनि गाइँदै आएको राजभण्डारीले बताउनुभयो ।

“यो गीतलाई लिपिबद्ध गरेका छौँ । पहिला एउटा कपीमा लेखिएको अवस्थामा भेटिएको यो गीतलाई लिपिबद्ध गरेर प्रत्येक वर्ष गाउँदै आएका छौँ । पाका पुस्ताले मौखिकरुपमा गाउने गरे तापनि हराउने सम्भावना भएकाले लिपिबद्ध गरेर सुरक्षित गरिएको छ”, राजभण्डारीले भन्नुभयो, “होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको पछिल्लो समयमा मौलिक पहिचान दिने पुराना ‘फागु’ गीत नारयणकोचमा बर्सेनि घन्किँदै आएको छ ।”

आजको होलीलाई विशेष बनाउनका लागि खलःले पूर्वतयारी गरेको छ । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा पनि लिपिबद्ध गरिएको राजभण्डारीले जानकारी दिनुभयो ।

“फागु गीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ, फागुको राग लिन्छौँ, गाउँछौँ, भनेर भनिएको छ”, मंकाः खलःका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भन्नुभयो, “महिला र पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका मायापिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ ।” मनको भावनालाई वसन्त राग शैलीमा रङग््याउने गीत नै फागु गीत भएको उहाँको भनाइ छ ।

केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनकता हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको संस्थापक संयोजक छोटाले बताउनुभयो ।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुरानादेखि युवायुवती आश्चर्यमा पर्ने गरेका छन् । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।

पछिल्लो समयमा फागु पर्वमा अन्य समुदायलाई समेत समावेश गरिँदै आइएको छ । मंकाः खलःले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणमा जोड दिँदै आएको छ ।

खेमराज गौतम/रासस