• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले जिते



ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा पहिलोपटक भएको प्रथम वडा अध्यक्ष कप -यापिड चेस प्रतियोगिता—२०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन् ।

चैत ९ र १० गते लामाटारको शम्भुचौरस्थित कर्भड हलमा आयोजित सो प्रतियोगिताका विजयी नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ‘वडा अध्यक्ष कप बुद्धिचाल’ को आकर्षक ट्रफिसहित २५ हजार नगद, पदक र प्रमाणपत्र पाए ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको पहलमा सञ्चालन भएको प्रतियोगितामा तीनपटक राष्ट्रिय च्याम्पियन भईसकेका बद्रीलाल नेपाली दोस्रो र थापाथली चेस पार्क क्लवका सुशील चौधरी तेस्रो स्थानमा रहे । बद्रीले नगद १५ हजार र सुशीलले नगद १० हजार प्राप्त गरे ।

महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा भएको खेल अन्तर्गत काठमाडौका बिजेश राजकर्णिकार चौथो स्थान र उदीयमान खेलाडी शुश्रुत दाहाल पाँचौ स्थानमा रहे ।
प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी, झापाका युवा राजन सुवेदी, मकवानपुरका युवा मिलन लामा र ललितपुरका सुरोज महर्जन क्रमशः छैटौं देखि दशौ स्थानमा रहन सफल भए ।

३३ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा महिलातर्फ श्रीलंकाका सचिने रणसिंगे प्रथम भईन भने सिन्दिरा जोशी र पुनम प्रसाईं तेस्रो भईन । रणसिंगे सो प्रतियोगितामा भाग लिने पहिलो विदेशी खेलाडी हुन । उनी केही दिनपछि बुटबलमा आयोजना हुन लागेको अन्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगितामा भाग लिन केही दिन अघिमात्र नेपाल आएकी हुन् ।

सजिन महर्जन र संजय महर्जन ललितपुर विजेता र उपविजेता भए भने महालक्ष्मी नगरपालिकातर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ प्रथम र दोस्रो स्थानमा रहे । भेट्रानमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए चने जगन्नाथ ताम्रकार दोस्रो भए ।

अनरेटेडमा शैलेश श्रेष्ठ र यु १२ मा अग्रता आचार्य उत्कृष्ट भए । प्रतियोगितामा ११६ जना शीर्षस्थ खेलाडीहरुको सहभागी रहेको थियो ।

महालक्ष्मी महानगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ उपप्रमुख लक्ष्मी महर्जन,आयोजक वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटी तथा नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन विजेतालाई नगद पुरस्कार , प्रमाणपत्र, आकर्षक ट्रफि र मेडल प्रदान गरे ।

समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन, प्रमुख निर्णायक सोराज ताम्राकार र वडासदस्य शशीधर पोखरेलले विजयी खेलाडीलाई वधाई दिएका थिए ।

खेल आयोजक वडा नं.९ का अध्यक्ष जयकृष्ण बोगटीले वडाको विकास र वडामा अनुकरण गर्नसक्ने रचनात्मक कार्य निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे ।