१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीसँग सूर्य चिन्ह छ, ओलीसँग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन : माधव कुमार नेपाल



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउनुभएको छ ।

बुधबार काठमाडौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्की दिएको प्रसँग उल्लेख गर्दै त्यसो नगर्न सचेत गराउनुभएको हो । मन्त्रीहरुको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संबैधानिक र स्वतन्त्र आयोगहरुलाई थर्काउने काम गरेको भन्दै उहाँले त्यसो नगर्न खबरदारी गर्नुभयो ।

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधान अनुसार निर्णय गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “आधिकारिताको विवादमा पस्न पाउदैन भनिएको छ । कानुनमा एउटै पार्टीभित्र दलको नाम, निर्वाचन चिन्ह र छापको बारेमा विवाद आयो भने वहुमतको निर्णयलाई हामी स्वीकार गछौ भनेर निर्वाचन आयोगको कानूनमा लेखेको छ । ”

संबैधानिक निकाय निकाय निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उहाँले ओलीको आदेश र फरमानलाई भन्दा नियम कानुन अनुसार निर्णयमा पुग्न सुझाउनुभयो । अन्यथा कानूनको कसैले पनि पालना नगर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले आयोगले अगाडि बढाईसकेको काममा हस्तक्षेप गर्न थालेका छन् । खबरदार स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैन । निर्वाचन आयोगले नियमावलीमा परिर्वतन गरेर पठाइसकेको छ । नछाप्नु भनी निर्देशन दिइएको छ । उनले तुरुन्त आदेश र फरमान फिर्ता लिउन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरुन् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । यो कुराको हेक्का होस् सबैलाई ।”

उहाँले आफूहरु लगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संबैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “जसलाई कम्युनिष्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुसासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्ने वित्तिकै रिंगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युनिष्ट पार्टीको नेता हुनसक्छन् ? त्यस्तो मान्छे कम्युनिष्ट पार्टीको नेता हुन सक्क्तैन । कहाँबाट देशको प्रधानमन्त्री भए ? मन्त्रीहरुको जम्मै अधिकार आफ्नो हातमा लिएका थिए । त्यही हैसियतले अहिले पनि निर्वाचन आयोगलाई थर्रकमान गर्न खोजिरहेका छन् । खबरदार । हामी साथमा छौ तपाईहरुको । हामी जीउँदै छौ । हामी यहीँ छौ । ”

उहाँले प्रधानमन्त्री ओलीलाई बहुमतको शासन मान्न तयार भए निर्वाचन आयोगलाई धम्कि दिन छाडेर आफ्ना पक्षकालाई मार्चपास गराएर टाउको गन्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “मार्च पास गराऔ ४ सय ४१ जना मध्ये केपी ओलीको पक्षमा कति जना उभिन्छन् ? सय जना । हाम्रो पक्षमा ३ सय जना ।”

पार्टीको विधानमा अध्यक्ष पहिलो नलेखेको भन्दै उहाँले ओली आफैले आफुलाई पहिलो भन्दै हिडेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “ पहिलो अध्यक्ष ओली गुटको होला । बालकोटको होला । तर नेकपाको पहिलो अध्यक्ष होइन । विधानमा लेखेको छ ? लेखेको छैन । निर्णयमा लेखिएको छ ? छैन । मान नमान मै तेरा मेहमान । कसैले देओस् नदओस् ताज पहिरिएर हिडेका छन् । ”

उहाँले चुनाव चिन्ह सूर्य आफूहरुको भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीसंग सूर्य चिन्ह छ । केपी ओलीसंग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन । ”
उहाँले पार्टीको सिद्धान्त विचार सबै छाडेर प्रधानमन्त्री ओली आफ्नो पाप पखाल्न पशुपतिको शरणमा पुगेको व्यंग्य गर्नुभयो ।

नेता नेपालले भन्नुभयो “केपी ओली जी तपाईले मदन भण्डारीको नाम जप्ने गर्नुभएको छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अब पशुपति नाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ । जो मानिस राम्रो प्रवृत्तिको मान्छे छ । जसले धर्म गर्दछु । पाप गर्नेलाई पशुपतिनाथले पनि माफ गर्दैनन । चेतना भया । केपी ओलीलाई चेतना भया । संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई जनअधिकार कुल्चिनेहरुलाई ।”

केपी ओली नेतृत्वको सरकारको समयमा ७ हजार १ सय ७० नेपाली चेलीहरु बलात्कृत भएको र उनीहरुको आत्माले ओलीलाई  ‘ए ओली तिमीले कति जनालाई सजायँ दिएका छौ ? कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो असंवेदनशीलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ । ’ भनिरहेको उल्लेख गर्नुभयो ।

आम जनताले केपी ओलीलाई धिक्कारी रहेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले गरेको पाप पशुपतिमा बत्ति बालेर धोईपखाली गर्न नसकिने बताउनुभयो ।