• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ



काठमाडौं । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । कथित मदिरा घोटाला प्रकरणमा मुख्यमन्त्रीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ परेको हो । उनलाई आज दुई घण्टाको सोधपछि नियन्त्रणमा लिइएको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले पक्राउविरुद्ध सर्वोच्च अदालतमा पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

भारतमा यो वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो घटना हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो । यसअघि दिल्लीका शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा कथित मदिरा घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

मुख्यमन्त्री पक्राउ परेपछि उनको निवासबाहिर पार्टी नेता तथा कार्यकर्ताको भीड लागेको छ । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ ।