१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन र धर्मपत्नी राधादेवीबाट मृत्यपछि शरीर दान गर्ने घोषणा (भिडियोसहित)



अ+ अ-

ललितपुर । वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको छ ।

नइ प्रकाशनबाट ललितपुरमा शुक्रबार आयोजित  घोषणा सभामा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्नुभएको जानकारी दिनु भयो ।

१०१ वर्षीय शताब्दी पुरुष डा.जोशी र ९६ वर्षीय श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा उहाँहरूका छोरा अनुराज जोशीको सहमतीको समेत हस्ताक्षर रहेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख  चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा शताब्दी पुरुष डा.जोशीले ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको हो’ भन्नुभयो ।

 सभामा प्रमुख अतिथि  चिरीबाबु महर्जनले शताब्दी पुरुष डा.जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श हुनुहुन्छ भन्नुभयो ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त घोषणा सभामा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दुरशदर्शी भावनाको प्रशंसा गर्नुभयो ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गर्नुभएको थियो । जीवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुनहुन्छ । यसअघि ललितपुर महानगरपालिकाकै समन्वयमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक गरेको थियो ।

नेपालको कला संस्कृतिको संरक्षणमा जोशीले पुर्‍याएको योगदानको सम्मान गर्दै ललितपुर महानगरपालिकाले जोशी एक सय वर्ष पुगेको अवसरमा अघिल्लो वर्ष अभिनन्दन कार्यक्रम आयोजना समेत गरेको थियो ।

यो पनि हेर्नुहोस् : जोशी दम्पतीबाट शरीरदान गर्ने ईच्छा