• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर गरिएको हो ।

आरोपितले रु ११ लाख ९६ हजार ६ सय ९५ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेकाले हानिनोक्सानी भएको बिगो असुल उपर मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको छ । त्यसैगरि महोत्तरीको बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ताद्वय एमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रुख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दिप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ ।

यस्तै सव–डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङगेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का समेत आरोपित छन् ।

बर्दिबास नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य शान्तादेवी श्रेष्ठ र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ । रासस