• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहालले आज विश्वासको मत माग्दै, कति पाउलान् ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्रै तेस्रो पटक आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धन परिवर्तन गरेपछि अर्को पटक विश्वासको मत लिन लागेका हुन् । उनलाई यसअघि नेपाली कांग्रेसले दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

पुरानो गठबन्धन दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि दाहालले विश्वासको मत प्रमाणित गर्नुपरेको हो । गठबन्धनप्रति प्रधानमन्त्रीले धोका दिएको भन्दै कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो ।

अहिले सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् । उनीहरुले दाहाललाई विश्वासको मत दिने निर्णण गरिसकेका छन् । यी दलले आफ्ना सांसदलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । यसबाहेक चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले गठबन्धन पाँच दल र नागरिक उन्मुक्ति पार्टीको सबै मत लिन सके १ सय ५६ मत प्राप्त गर्ने छन् । तर नागरिक उन्मुक्ति पार्टीमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद छ । उसको मत नआए पनि दाहालले १ सय ५२ भोट प्राप्त गर्ने छन् । विश्वासको मत पाउन १ सय ३८ मत ल्याउनैपर्छ । ८८ सांसद रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

यसअघि गत वर्षको चैत ६ गते प्रधानमन्त्री दाहालले दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । त्यस बेला गठबन्धनबाट अलग भएका एमाले र राप्रपाले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रनिनिधिसभामा विश्वासको मत लिनुपरेको थियो ।
विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । प्रतिनिधिसभामा २६२ सांसद विश्वासको मतमा सहभागी थिए । एक सांसदले भने मत दिन्न भन्ने पक्षमा आफ्नो मत राखेका थिए ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । त्यसैगरी एमाले र राप्रपाका सांसदले उनको विपक्षमा मत हालेका थिए । नेमकिपा भने तटस्थ बसेको थियो ।

२०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले त्यसको १६ दिनपछि पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यस बेला प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्रीलाई समर्थन गरेका थिए ।

तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएपछि उनले असाधारण बहुमत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मतदान गरेका थिए ।