१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवणको कार्यक्रम सम्पन्न( भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गर्नुभएको छ । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो । 

समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराउनुभएको थियो । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो । 
मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो । कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख गरिएको दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । 
भक्तपुरमा रहेको जितामित्र मल्लको विसं १७४५ को अभिलेख र भूपतीन्द्र मल्लको विसं १७५५ को अभिलेखमा भने श्रीपञ्चमीमा  राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने गरेको उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । शाहकालदेखि भने हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा शुरु भएको हो । 
 

कार्यक्रममा नेवारी भाषाको ‘बियाँचली’ रागसमेत गाइने गरिन्छ । सो अवसरमा कलाकारले सितारवादन पनि गरेको जनाइएको छ । वसन्त श्रवणपछि विशिष्ट अतिथिले मूल पुरोहितबाट टीका र प्रसाद ग्रहण गरी फर्कनुभएको हेरचाह अड्डाले जनाएको छ । वसन्त पञ्चमीका दिन नासलचोकमा पूजाको व्यवस्था निवृत्तिभरण कार्यालयले गर्ने गरेको छ । सुरक्षाको प्रबन्ध गृह मन्त्रालय र वसन्त श्रवण कार्यक्रमको व्यवस्थापन हनुमानढोका दरबार हेरचाह अड्डाले गर्ने गरेको छ । रासस

(फोटोफिचर)