२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत



file photo
अ+ अ-

ढोरपाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ ।

बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताउनुभयो ।

दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उहाँको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताउनुभयो ।

पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले डायलायसिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताउनुभयो ।

“अब पैसा नभएर उपचार नपाएर कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने छैन, सरकारले सबै क्षेत्रमा स्वास्थ्य सुधार गर्नतर्फ लागेको छ, अब सामान्य उपचारका लागि एक दिन खर्चनुपर्ने बाध्यता हट्दै गएको छ, घर नजिकैसम्म स्वास्थ्य संस्थाहरू सञ्चालनमा आइरहेका छन्, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गर्दैछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “तल्लो तहका सरकारसँग सहकार्य गरेर पहिलेका अञ्चल अस्पताल सुधार गर्दै गइरहेका छौँ, हरेक निजी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत छुट गर्ने व्यवस्था हुन थालेको छ ।”

चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उहाँको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उहाँले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ राख्नुभयो । सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उहाँको भनइ थियो । रासस