२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कोरोना घटेपछि खप्तडमा चहलपहल, पर्यटकले होटल भरिभराउ

कोरोना घटेपछि खप्तडमा चहलपहल, पर्यटकले होटल भरिभराउ
अ अ+ अ-

डोटी । कोरोना भाइरसको जोखिम घट्दै गएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि पछिल्लो समय खप्तडमा चहलपहल पनि बढ्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । सुन्दर खप्तड क्षेत्रको अवलोकन गर्न हिजोआज दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । 

विकास समितिका अनुसार यो वर्षको अहिलेसम्म भारतीयसहित ३९ जना मात्र विदेशी पर्यटकले खप्तड राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तर तीन हजारभन्दा बढी स्वदेशी पर्यटक यहाँ पुगेका छन् । खप्तडमा पर्यटकहरु दिनहुँ आउन थालेपछि यहाँका होटेल व्यवसायी तथा सवारी साधन आम्दानीमा पनि बृद्धि भएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय खप्तडमा पर्यटक आउन थालेका छन्, उनीहरुले गाडी रिजर्भ गर्ने भएका कारण पनि स्थानीय यातायात व्यवसायीको आम्दानी पनि बढ्न थालेको छ ।”

पछिल्लो केही दिनमात्र यता यहाँका घरबास तथा स–साना होटेल पनि आन्तरिक तथा भारतीय पर्यटकका कारण भरीभराउ हुन थालेका छन् । जिल्लामा पछिल्लो समय कोरोना भाइरसको जोखिम घट्दै गएका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भइरहेको खप्तड पर्यटक विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण खासै पर्यटक आएका थिएनन, अहिले जोखिम कम भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ ।” 

यतिमात्र नभई खप्तडमा पर्यटकको सेवा सुबिधाका लागि घरबास तथा हेलिकप्टर टुरको व्यवस्था गरिएपछि पर्यटक आउने क्रम बढेको डोटीका स्थानीय तथा त्रिबेणी एफएमका स्टेसन म्यानेजर कर्ण चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई बढी लोभ्याउने गरेको छ ।

निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा बढी आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्ज भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको माघ सम्ममा कम्तिमा रु तीन लाखभन्दा बढी राजश्व सङ्कलन भएको जनाइएको छ । निकुञ्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावरसमेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । 

खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला र जनै पूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा र सहजताका लागि डोटीको पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्रानासम्म सडक सुविधा पु¥याइएको छ भने प्रदेश सरकारको लगानीमा यो वर्ष झिग्रनासम्म उक्त सडक कालोपत्र हुँदै छ । झिग्रानाबाट भने पर्यटकको मागअनुसार घोडा चढ्ने व्यवस्था मिलाइएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बिचपानीसम्म सडक सुविधा पु¥याउन सफल भएका छौँ । त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।” खप्तड क्षेत्रमा पर्ने त्रिवेणीधाम, नागढुङ्गा, सहस्र लिङ्ग, खप्तड ताल घुमेपछि पर्यटकले आनन्द लिने गरेको हामीले पाएको खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “मनोरम दृष्य अवलोकन गर्ने अवसर मिल्ने भएकाले एक पटक खप्तड घुम्न आउने पर्यटक अर्कोपल्ट नआई बस्न सक्दैन । खप्तडसँग मन लोभ्याउने अदभूत शक्ति छ ।” 

खप्तड पर्यटन क्षेत्रको विकासका लागि यहाँका स्थानीय तहले सक्दो पहल गरे पनि केन्द्र र प्रदेश सरकारले खासै कार्यक्रम नल्याएको स्थानीय बासिन्दाको गुनासो छ । केन्द्र र प्रदेश सरकारको बजेट आएको भए खप्तड झनै सुन्दर हुने उनीहरुको भनाइ छ । खप्तड क्षेत्रमा रहेको खप्तड स्वामी आश्रमको संरक्षण तथा सम्बद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी र खप्तड पर्यटन विकास समितिले गरिरहेका छन् । त्यस्तै खप्तड क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन खप्तड प्रवेश द्वार बग्लेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका वडा नं २ को संयुक्त लगानीमा बग्लेक गाउँका १० घरधुरीबाट घरबासको व्यवस्था गरिएको हो । 

होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काका अनुसार बग्लेकमा तत्कालै ठूला होटलहरु सञ्चालनमा ल्याउन कठिन भएकाले होमस्टेका माध्यमबाट पर्यटकलाई सुविधा दिन घरहरु छनोट गरिएको हो । खप्तड क्षेत्र खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएको मानिन्छ । खप्तड बाबा आश्रममा बाबाको मूर्तिका साथै उनले प्रयोग गरेका केही सामान छन् । यस ठाउँमा बसेर बाबाले योग र ध्यान गर्नुका साथै कृतिहरु पनि रचना गर्नुभएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायतका कृति प्रकाशित छन् । 

खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ वर्ग किलोमिटर छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटरसम्मको उचाइमा रहेको यो निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी चराचुरुङ्गी पाइने गरेको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो । 

उहाँका अनुसार खस्रे भ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, दुर्लभ जातिको हरियो छेपारा र बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता बोकेको १५० मिटर लामो र ५० मिटर चौडा खप्तड दह पनि यहाँ छ । यसका अतिरिक्त यहाँ ५२ वटा ताल र साना ठूला गरी ९० दह रहेका छन् । निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडु बाँदर, दुम्सी, खरायोलगायतका जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाइदिएको यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, स–साना ढिस्का र रमाइलो जङ्गल रहेको छ । घाँसे मैदानहरुमा गाई, गोरु, घोडा चरिरहेका देख्न सकिन्छ । 

खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूला फाँट छन् । जैविक विविधताले भरिएको यो क्षेत्र विसं २०४० देखि निकुञ्ज बनेको हो । यस क्षेत्रको सुरक्षाका लागि विसं २०४७ देखि नेपाली सेनाको छावनी (गुल्म) स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । खप्तडमा २०० भन्दाबढी प्रजातिका फूल र बहुमूल्य जडीबुटी पाइन्छन् । 

मंसिरदेखि फागुन महिनासम्म यो ठाउँ हिउँले ढकमक्क हुने गदर्छ । खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको बग्लेक हुँदै जाने बाटो बढी प्रचलनमा छ । पहिलो दिन काठमाडौँबाट हवाइजहाज वा बसबाट धनगढी पुगेपछि त्यहाँबाट डडेल्धुराको स्याउले बजार हुँदै डोटीको सदरमुकाम सिलगढी पुग्न बसबाट करिब सात घण्टा लाग्छ । सिलगढीबाट बिचपानीसम्म करिब दुइ घण्टा कच्ची सडक गाडीबाट हिँडेपछि पैदल वा घोडा मगाएर खप्तड प्रस्थान गर्दा हुन्छ । बिचपानीबाट हिँडेपछि ठूला चट्टान र घना जङ्गलको बाटो आउँछ । बाटोमा फुलेका रङ्गीचङ्गी फूलहरू नियाल्दै जाँदा केही घण्टामै त्रिवेणी मन्दिर पुगिन्छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्जमा आरामसँग पुग्न सकिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग र खाना पकाउने सामानसँगै लिएर जानु उत्तम हुन्छ ।

कसरी पुग्ने खप्तड : देशको राजधानी काठमाडौँबाट करीब १२ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ । हवाइजहाजमा पनि धनगढीसम्म जान सकिन्छ । अत्तरियाबाट खप्तड जानलाई बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेश द्वार बनाइएका छन् । तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ छान्नाको मेल्तडी पर्छ । मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान अढाई घण्टामात्र लाग्छ । बाजुराबाट पनि सडकबाट करीब आठ घण्टा समय लाग्छ । त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सवारीसाधन पुग्ने ठाउँबाट करिब पाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाँदा मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ । 

अन्य जिल्लाबाट जान फुर्सदमा हिँड्ने पर्यटकलाई सहज हुन्छ भने छोटो समयमा खप्तड भ्रमण गर्ने पर्यटकलाई भने बझाङबाट नै सजिलो पर्छ । अन्य जिल्लामा एक–दुई दिन हिँडेर खप्तड पुगिन्छ भने बझाङबाट खप्तड जाँदा त्यो अरु जिल्लाको बाटोकै समय बराबर खप्तडमा केही महत्वपूर्ण ठाउँहरू घुम्न सकिन्छ । 

काठमाडौँबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च लाग्दैन । काठमाडौँबाट जहाजमा जाने हो भने रु चार हजारदेखि १२ हजारसम्मको टिकट लाग्छ धनगढी पुग्न । बसमा जाने हो भने रु एक हजार ५०० कैलालीको अत्तरिया बजारसम्म गाडी भाडा लाग्छ ।

बझाङ जिल्ला भएर जाने हो भने प्रतिव्यक्ति रु ८०० गाडी भाडा लाग्छ । यसो गर्दा मेल्तडीमा खाना खाएर हिँडेर नै जानुपर्छ, दिउँसो २/३ बजे नै खप्तड पुगिन्छ । डोटीबाट जाँदा अत्तरियाबाट करिब सात घण्टामा डोटीको सदरमुकाम सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ । झिग्रानाबाट करिब सात घण्टाको पैदल हिँडेर खप्तड पुग्न सकिन्छ । करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौँबाट गएर काठमाडौँ पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्यूनतम रु १० हजारजति लाग्न सक्छ । खप्तडमा खाने र बस्ने राम्रो व्यवस्था छ । खप्तडमा पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ । पानी पर्दा फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन् । आकाशको पानी बन्द हुनेबित्तिकै एकैछिनमा जम्मा भएको पानी सबै बगेर ओभानो हुने गर्दछ ।