• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको बिरोध नगर्न चेतावनी दिनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुन: संविधानकै बिरोध गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न नमिल्ने बताउनु भयो । उहाँले संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ । त्यसको तेस्रो प्यारामा सामन्ती निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ । त्यसपछि हाम्रो स्ंविधानको धारा २ लाई एक पटक हेर्ने हो भने सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ । नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ । र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छु । तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।’

‘पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भएभरको सम्पूर्ण सेवासुविधाहरु लिने, फेरि यही व्यवस्थाको बिरोध गर्ने, यो कति नैतिक छ । यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकारको यो व्यवस्थाभित्र रहेको सीमा र कमीजोरीहरुबारे यो संसदमा मज्जाले बहस गर्न सकिन्छ, यो व्यवस्थाका बारेमा र यो संविधान भन्दा माथि गएर यो संविधानलाई ध्वंस गर्नेगरी बहस गर्ने अधिकार कसैलाई छैन । यही संविधानले दिएको लोगो र यसैले व्यवस्था गरेको संरचनामा भाग लिने, सारा सेवा सुविधा लिने, प्रदेशतिर गएर सभामुख पनि लिने, फेरि संविधानलाई बिरोध गर्ने । यो संविधान र व्यवस्थाको विकल्प किमार्थ र राजा र राजतन्त्रवादीहरु हुन सक्दैन ।’

उहाँले जलवायु परिवर्तन नेपालका लागि मात्रै विश्वका लागि नै चुनौति बनिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको बताउनु भयो ।