२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द



तस्बिर:एएफपी
अ+ अ-

लिले। उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ ।

ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो ।

ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ । अर्को एक रिएक्टर भने नियमित मर्मतसम्भारका लागि यसअघि नै बन्द गरिएको थियो । हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ ।

ईडीएफले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ ।

डन्कर्क सहरनजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा ९०० मेगावाट क्षमताका छवटा रिएक्टर छन् । यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक हो ।

यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो ।
फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ । अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा ईडीएफले केही आणविक रिएक्टर बन्द गरेको थियो ।

ईडीएफका तथ्याङ्कमा आधारित एएफपीको गणनाअनुसार, पछिल्लो घटनाअघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन १५ दशमलव छ प्रतिशतले घटेको थियो ।

जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रिएक्टर बन्द गर्नुपरेको थियो । सन् २०१३ मा स्वीडेनको एक आणविक ऊर्जा केन्द्र तीन दिनसम्म बन्द भएको थियो भने सन् १९९९ मा जापानमा यस्तै घटनाका कारण विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको थियो ।

विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ ।  (रासस/एएफपी)