२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन



अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ । समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टिकरणको काम भइरहेको छ ।

“जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो”, लामाले भन्नुभयो । उहाँले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताउनुभयो । “रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टिकरणको काम सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ”, सदस्य लामाले भन्नुभयो ।

समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरणकार्य थालिएको जनाइएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरुप आयोगको मापदण्डअनुसार निस्सा दिइने लामाले बताउनुभयो ।

जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागार्इँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास छ ।

आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ जना रहेको तथ्याङ्क छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ । रासस