८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ‘कौसी क्वीन’ प्रतियोगीता, भावना रानाभाट विजयी



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुनुहुन्छ । लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको छ । होटलबाट निस्किएका कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरी कौसी हराभरा बनाउन उहाँले चलाएको जाँगरले मूर्तरुप लिएको छ । मेहनत कौसीभरी हराभरा भइ फैलिएको छ ।

महानगरले यही माघको २७ गते ‘मेरो फोहोर मेरो जिम्मेवारी, क्लिन सिटी ग्रिन सिटी’ भन्ने नाराकासाथ आयोजना गरेको ‘कौसी क्विन प्रतियोगिता २०८०’ मा उहाँले १८ प्रतिस्पर्धीपछि पार्दै रु १५ हजारसहित कौसी क्विनको ताज पहिरनुभयो । सो सम्मानले उहाँलाई औँधी खुसी बनाएको छ ।

“मलाई माटोसँगको प्रेमले मेहनती बनायो”, उहाँले भन्नुभयो, “यही प्रेमकै कारण कौसी विभिन्न तरकारी र फलफुलले भरिएको छ ।” उहाँको होटल बाहिर पनि खेर गएका साना ठूला डब्बा रङ्गाएर विभिन्न प्रजातिका फुलहरु रोप्नुभएको छ । “विसं २०६९ सालमा किराना पसल चलाउँथे । श्रीमान बाहिर हुनुहुन्थ्यो । बच्चाहरु सानै  थिए । घरिघरि तरकारी लिन जान समय हुँदैनथ्यो । धनियाँ मलाई निकै मनपर्ने, एकदिन मोबाइलमा पुरानो भाँडामा निकै राम्रो धनियाँ फलाएको भिडियो देखेपछि त्यसैको सिको गरी धनियाँ उमारे”, उहाँले भन्नुभयो, “धनियाँ राम्रो भएपछि कौसी खेतीमा रुचि बढ्यो ।”

माटो र विरुवासँग रमाउने बानी परेपछि आनन्द आउने उहाँको अनुभव छ । उहाँले कौसीमा लसुन, प्याज, धनियाँ, पुदिना, बेथे, रायो साग, ब्रोकाउली काउली, टमाटर, पेपिनो मेलोन, अम्बा, कागती, स्टार फ्रुट, स्ट्रबेरी, मरिज लगाउनुभएको छ ।  होटलमा खपत हुने साग, लसुन, धनियाँ, गोलभेँडा कौसीमै फल्छ । रानाभाटले अहिले कौसी करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउनुभएको छ । पोखरा कौसीखेती समुहको अध्यक्ष समेत रहनुभएकी भावनाले फेसबुक पेजमा आफूले जानेका बुझेका कौसीखेतीसम्बन्धी ज्ञान दिँदै आउनुभएको छ । उहाँ फेसबुकमार्फत नै फोहोर व्यवस्थापन तथा कुन समय कुन तरकारी  लगाउने, रोगबाट कसरी जोगाउने, घरमै किटनाशक औषधी कसरी तयार गर्ने भन्ने विषयमा पनि जानकारी दिने गर्नुहुन्छ ।

सोही प्रतियोगितामा उपविजेता पोखरा–७ की हरिकुमारी श्रेष्ठको अनुभव पनि त्यस्तै छ । कोठा भाडामा बस्दा सानो ठाउँमा एउटा प्लाष्टिकको भाँडामा भिण्डी, धनियाँ र लसुन रोपेर कौसीखेती सुरु गरेकी उहाँले २०७० सालमा आफ्नै घर बनाएपछि कौसीखेती बिस्तार गर्नुभएको हो । उहाँको कौसीमा प्राय: सबैखाले तरकारी छन् । त्यति मात्रै होइन, घर अगाडि फुल र घरको छतमा तरकारीले हराभरा छ । आफूले गरेको कौसीखेती हेर्न किसानहरु आउँदा आफूलाई निकै खुसी लाग्ने उहाँले सुनाउनुभयो ।

पोखरा कौसीखेती समूहको सदस्य, कृषि सञ्जाल वडा नं ७ कि सदस्य समेत रहनुभएकी श्रेष्ठले कौसीखेतीबाट पाँच जनाको परिवारका लागि तरकारी पुगिरहेको बताउनुभयो । फोहोर व्यवस्थापन गर्न कौसीखेती उपयुक्त विकल्प भएको उहाँको भनाइ छ ।

“अलिकति मेहनत गर्न सके विषादीरहित ताजा तरकारी खान पाइन्छ, एकातिर पैसाको बचत हुने र अर्कोतर्फ फोहोर व्यवस्थापन हुने” श्रेष्ठले भन्नुभयो ।

पोखरा ८ की कान्ति पौडेल अधिकारी पनि  कौसीखेतीमै रमाउनुभएको छ । प्रतियोगितामा तेस्रो हुनुभएकी उहाँ अहिले लहरे बाली लगाउने तयारीमा हुनुहुन्छ । उहाँ २०७४ सालदेखि कौसीखेतीमा हुनुहुन्छ । उहाँले भान्समा खपत हुने ९० प्रतिशत तरकारी कौसीखेतीबाटै उत्पादन हुने गरेको बताउनुभयो । वडा स्तरीय कृषि सञ्जाल वडा ८ संयोजक एवम् पोखरा कौसी करेसा समुहमा सचिव अधिकारीले अहिले कौसीखेतीको महत्व बुझाउन सक्रिय हुनुहुन्छ । उहाँ घरमै तितेपाती, घिउकुमारी, निम, चरी अमिलो, खेर जाने मोहीको प्रयोगबाट किटनाशक औषधि  बनाउन पनि सिकाउनुहुन्छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरामा ‘क्लिन सिटी ग्रिन सिटी’को अवधारणालाई सार्थक बनाउन र फोहोर व्यवस्थापन गर्नका लागि कौसी करेसा कृषकलाई प्रोत्साहन गर्ने महानगरको नीति रहेको बतउनुभयो । “फोहोर व्यवस्थापन, सहरको सुन्दरता, वातावरण स्वच्छता, विषादीरहित तरकारीका लागि जोड दिनका लागि यस्ता कार्यक्रम ल्याइएको हो । अहिले सकारात्मक नतिजा आइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले पोखरा महानगरमा रहेका एक लाख ५० हजार घरधुरीमध्ये करिब ३० हजार घरधुरीमा कौसीखेती गरिएको बताउनुभयो ।

महानगरले हाल वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । कौसी करेसबारी किसानलाई महानगरले विभिन्न तालिम पनि पनि दिँदै आएको छ । जसले गर्दा महानगरका अघिकांश घरका कौसीहरु हराभरा देखिने गरेको कडरियाको भनाइ छ ।

उहाँका अनुसार  महानगरले सुरुआती दिनहरुमा वडा नं ८ लाई कौसीखेतीका लागि ‘पाइलटिङ’ गरेको थियो । त्यो अभियान निकै सफल भएपछि अहिले महानगरका मुख्य सहरी क्षेत्रमा पर्ने वडा नं १देखि १७ सम्ममा यो कार्यक्रम समेटिएको छ । महानगरले हालसम्म करिब चार हजार जनालाई कौसीखेतीका लागि तालिम समेत दिइसकेको छ ।  महानगरले किसानलाई मल, प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विनलगायतमा ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाँडाका रुपमा प्रयोग गर्दै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसीखेतीका लागि प्रयोग गरिएको महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउनुहुन्छ । “सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ । यसले वातावरणमा निकै सघाउ पुर्याउँछ ।” महानगरले क्लिन सिटि ग्रिन सिटिको अवधारणालाई स्थापित गर्न विभिन्न कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । कौसीखेती आयआर्जनसँगै सरसफाइसँग पनि जोडिएको छ । बढ्दो सहरीकरणमा हुनसक्ने प्रदूषण र उत्सर्जन हुने फोहोरलाई सरल तरिकाले व्यवस्थापन गर्न कौसीखेती प्रभावकारी माध्यम भएको बरालको भनाइ छ ।

वातावरणीय दृष्टिकोणबाट हेर्दा कुहिने फोहोर व्यवस्थापन र हरियाली निर्माणमा समेत कौसीखेती महत्वपूर्ण मानिने जलाधार एवम् वातावरण विज्ञ राजन सुवेदी बताउनुहुन्छ । “यसका फाइदाहरु निकै छन् । यसलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्दै हरेक घरमा यसको महत्व बुझाउन सके स्वस्थ्य जीवनयापनका लागि निकै राम्रो हुन्छ ।”

उहाँले  घरको छत अथवा कौसीमा खेती गर्दा माटो पानीले घरको छत कमजोर हुने, पानी चुहिने, घरमा प्रयोग भएका रड बाङ्गिने लगायतका बुझाइहरु विद्यमान रहेकाले त्यसका लागि कस्तो तरिकाले कौसीमा खेती गर्दा यी समस्या रहँदैनन भन्नेबारेमा पनि जानकारी आवश्यक रहेको  बताउनुभयो ।

“महानगरबाट भइरहेका कौसीखेती प्रवद्र्धनका कार्यक्रम राम्रा छन् । यसलाई वृहत रुपमा लान सके यसले वातावरण स्वच्छता जोगाउन र  अग्र्यानिक तरकारीले स्वस्थ्य जीवनमा सहयोग पुर्याउँछ”, सुवेदीले भन्नुभयो ।

महानगरपालिकामा पूरा क्षेत्रफलको ४१ प्रतिशत भूमि कृषियोग्य रहेको पुरानो तथ्याङ्क रहेपनि जग्गा वर्गीकरण गर्दा भने उक्त तथ्याङ्क १९ दशमलव तीन प्रतिशतमा झरेको देखाउँछ । विसं २०७८ को जनगणनाअनुसार महानगरमा पाँच लाख १३ हजार पाँच सय चार स्थायी बसोबास छ । रासस