जीवन के हो ? प्रेम के हो ? विवाह के हो ? सम्बन्धहरू के हुन् ? के प्रेम भन्ने कुरो शाश्वत हो ? मनसँगको यो साइनो के एकचोटि गाँसिएपछि सधैँको लागि गाँसिने हो ? यो एकचोटि भएपछि सधैँभरिको लागि हुने हो ? उसो भए, पछि फेरि हुने प्रेमचाहिँ के हो त ? कि त्यो प्रेम नै होइन, मात्र वासनाको राग हो ? अघिदेखि यिनै कुराहरू मनमा खेलाएर आफैँलाई बिर्सेर म एकान्तमा बसिरहेकी छु । मन पनि किन हो कुन्नि एकतमासको भइराखेको छ ।
मनको उकुसमुकुस र छट्पटीले मलाई ओछ्यानमा सुतिरहन दिएन । मैले उठेर झ्याल खोलेँ । बाहिर भर्खर मिरमिरे उज्यालो हुँदै छ । सूर्योदय हुनै लागेको छ । मलाई एक्कासि आफ्नो देशको सूर्योदयको सम्झना आयो । आहा ! यतिखेर पूर्वतिर भर्खर उदाउन लागेको सूर्यको लालिमाले रातो पारेको आकाश, अनि उज्यालोको सङ्केत पाएर आ–आफ्ना गुँड छोडी बाँच्नको लागि सङ्घर्ष गर्न तम्सिंदै सिङ्गै आकाश नाप्न निस्किएका चराहरूको कलरवले गुञ्जायमान हुने आफ्नो परिवेशको कल्पनाले त्यतिखेर मलाई आफ्नै परिवेशमा पु-याइदिए झैँ लाग्दछ । ओहो ! केही गरी त्यस्तो भइदिए त । कम्प्युटरमा भएका कुराहरू छानी–छानी डिलिट गर्न सकेझैँ मैले जीवन यात्राको क्रममा यी पछिल्ला दिनहरूमा भोगेका, आफ्नो देश छोडेर आएपछिका ती सबै कुराहरू डिलिट गर्न पाए त हुन्थ्यो नि ।
अहिले गाँसिएको यो सम्बन्धलाई पनि आफ्नो जीवनको पर्दाबाट त्यसै गरी डिलिट गर्न सके मेरो आफ्नो जीवन र मेरो आफ्नो मायाले न्याय पाउँथ्यो कि ? मेरो आफ्नो माया ओझेल भएर जाँदैनथ्यो कि ? तर आजकल मलाई डर लाग्न थालेको छ । जीवनको यो मोडमा आएर कतै मैले आफ्ना मायाहरू बिर्सन थालेको त होइन ?
हुन त जीवन भनेकै मायाप्रेम आदि सम्बन्धले बाँधिएको एउटा यात्रा मात्र न हो । मलाई अचम्म लाग्छ, यो यात्राको सुरुमा जीवनभरिका लागि गाँसिएका ती सम्बन्धहरू के सधैँभरिको लागि चिरस्थायी हुनुपर्ने हैन र ? सम्बन्धको कसिलो अनुभूति सधैँका लागि हुनुपर्ने हैन र ? मायाको तातोले मुटुलाई सधैँभरि न्यानो पारी राख्नुपर्ने हैन र ? तर किन आज आफ्नो मुटु खोतल्दा म त्यहाँ आफ्ना ती आफन्तहरूको मायाको न्यानो आभास कतैतिर पनि पाउँदिन ? सम्बन्धको दरिलो बन्धनबाट उसको मन त्यसैत्यसै किन खुकुलो भएको ?
मैले कतै पढेकी थिएँ, समयको अन्तरालमा मित्रता पनि मर्दो रहेछ भन्ने कुरो । समयको यही दूरीमा कतै मेरा आफ्ना सम्बन्धका ती भावनाहरू त मरेनन् ? होइन भने किन मेरो मनमा आफ्नो प्राणभन्दा प्यारो लोग्नेको सम्झना पनि केही न केहीजस्तो गरी आइदिन्छ अनि मेरो मनलाई कतैबाट पनि तरङ्गित नगरी उसरी नै फर्किदिन्छ । अरू त अरू आजकाल त मेरो मनलाई छोराछोरीको सम्झनाले पनि उद्वेलित बनाउँदैन, किन होला त्यस्तो ? भन्ने नै हो भने त म उनीहरूबाट त्यति टाढा तिनै लोग्नेको जीवनस्तर उकास्न र तिनै छोराछोरीको भविष्य सपार्न त आएकी थिएँ नि । तिनीहरूकै मायाले हुत्याएर त मलाई यो बिरानो ठाउँमा ल्याइपु-याएको थियो ।
पैसा कमाउनको लागि यहाँ आउने निर्णय गर्न त सजिलै भएको थियो, तर त्यो निर्णयलाई कार्यान्वयन गर्न हामीहरूलाई कत्ति गाह्रो भयो । आउने अघिल्लो साँझ आफ्ना दुई नाबालक सन्तानहरू, चार वर्षे छोरो र दुई वर्षकी छोरीलाई च्यापेर म कति रोएकी थिएँ । मसँगसँगै राम्ररी कुरो नबुझेरै छोराछोरीहरू रोए अनि राम्ररी कुरो बुझेर मनु रोइदिएको थियो । मनुको पुरुषत्व त्यतिखेर जागृत भएको थियो क्यार ! आफू जानु पर्ने ठाउँमा स्वास्नीलाई त्यति टाढा पठाउनुपर्दा सके उसमा आफैँप्रति ग्लानि उत्पन्न भएको थियो होला ! त्यसैले त काँतर भएर उसले “भो तिमी नजाऊ, म यहाँ तिमी नभैकन एक्लै बस्न सक्दिन । यो घरबार हामी जसरी भए पनि चलाउँला । तर तिमीबिनाको यो टुहुरो र अधुरो जीवन बाँच्नको लागि हामीलाई कर नगर” भनेर निकै बिलौना गरेको थियो ।
मनुको कुरा सुनेर त्यो बेला मलाई पनि कम्ति नजाउँ–नजाउँ लागेन । तर एकातिर सुखद भविष्यको कल्पनाले अनि अर्कोतिर त्यहाँ जानको लागि दलाललाई दिनेदेखि लिएर भिसा र टिकटसम्मको खर्च, लुगाफाटो आदि–इत्यादिको खर्च खेर जाने कुरोले मलाई त्यतिखेर आफ्नो मन बाँध्न करै लागेको थियो ।
यहाँ आइसकेपछि पनि धेरैसम्म मलाई आफ्नो घरको त्यो अन्तिम रातको सम्झनाले मुटुमै चिरा पाथ्र्यो । आँखाबाट बर्बर आँसु झर्थे ।
तर आजकल के भएको होला ? किन होला मलाई घरको त्यतिसारो सम्झनै आउँदैन ? सम्झना आइहाले पनि आफ्ना आफन्तहरूको लागि मन त्यसरी चस्कदैन । आफ्नो उपस्थितिको कुनै छापै नछोडी सम्झना उसैगरी सर्लक्क झरिदिन्छ, जसरी कर्कलाको पातमा रहेर पनि आफ्नो कुनै चिनो पनि बाँकी नराखी पानीको थोपा सर्लक्क झरेर जान्छ । सके सम्बन्ध मर्ने भनेको यस्तै पो हो कि ?
यहाँ आएको दुई वर्षसम्म त मलाई साह्रै गाह्रो भएको थियो । सुरु–सुरुमा केही दिन त म आफ्नी मामाकी छोरी, दिदी–भिनाजुसँगै बसेकी थिएँ, तर पछि एक त त्यो ठाउँबाट आफूले काम गर्ने ठाउँ निकै टाढा पर्ने, अनि दोस्रो त्यहाँको जस्तो दौडादौडी, आफैँमा व्यस्त, आफैँमा मस्त समाजमा त्यसरी सधैँभरि कति अर्काकहाँ पाहुना लाग्नु भनेर नै मैले आफ्नो छुट्टै बन्दोबस्त गरेकी थिएँ ।
मैले अबदेखि आफू एक्लै बस्छु भनेर सुनाउँदा दिदी–भिनाजुले नियास्रो त माने नि, तर मानेर के गर्नु ? सधैँ उनीहरूसँग बसेर साध्य पनि त हुँदैनथ्यो । फेरि सँगै त, उनीहरूकै छोराछोरी पनि उनीहरूसँग थिएनन् । उही बिदामा केही दिनको लागि आउने त हो नि । त्यो पनि कत्ति कत्ति भएको थियो छोरोचाहिँ घर आएको थिएन । एउटी कुइरिनीसँग बिहेनै नगरी सँगै बस्न थालेको छ रे भन्ने गाईंगुईं सुनेकोले दिदीले चाहिँ पिर गरेर छुट्टी थियो । अब के गर्ने त्यहाँको समाज नै त्यस्तै छ ।
दिदीसँग छुट्टिएपछि सुरुसुरुमा त म साह्रै आत्तिएकी थिएँ । घरको सम्झनाले मलाई साह्रै सताउने गरेको थियो । कहिलेकाहिँ मनुले उताबाट फोन गथ्र्यो । कहिलेकाहिँ मैले यताबाट फोन गर्थेँ । ती बेलामा फोनमा मनु र बच्चाहरूको स्वर सुन्दा मेरो मनमा भक्कानो पथ्र्यो । पैसाको लागि आफ्नाहरूसँग टाढिएर त्यति टाढा आउनु परेकोमा मलाई आफ्नो जीवन नै धिक्कार जस्तो लाग्थ्यो । ती बेलाहरूमा फोन राखेपछि म एक्लै बसेर खुब रुन्थें । तर पनि आफ्नो परिवारको सुख–समृद्धिको लागि आफ्ना ती सबै नमिठा संवेगहरूलाई मुटुमै थुन्न म विवश थिएँ । त्यतिखेर यो पराई देशमा आफ्नो मनको बह सुनाउन मिल्ने मेरो आफन्त कोही पनि थिएन ।
एकदिन त्यस्तै आफ्नाहरूको सम्झनामा रातभरि रोएर, सुन्निएका गहका डिल तथा राता आँखा लिएर म काम गर्ने ठाउँमा पुगेकी थिएँ । त्यहाँ म सँगसँगै काम गर्ने अब्दुलले मेरो मानसिक स्थितिलाई याद गरिराखेको रहेछ । डिसवासरबाट भाँडाहरू निकालेर पुछ्तै गर्दा एउटा टेबुलमा भर्खर खाना सर्भ गरेर आएको अब्दुलले मलाई मायालु पारामा “तिमीलाई के भयो ? आज तिमी निकै दुखी देखिन्छ्यौ नि” भनेर सोध्यो । यसरी बिरानो ठाउँमा कोही आफूप्रति संवेदनशील भएको देखेर म झण्डै त्यहीँ हवाँ हवाँ रोइदिएकी थिएँ । त्यतिखेर मैले आफूलाई जबरजस्ती रोकेकी थिएँ, तर पनि आँखाको कुनोबाट आँसु चुहिहाल्यो ।
रहँदा–बस्दा त्यो बिरानो ठाउँमा अब्दुल नै मेरो आफन्तजस्तो भइदियो । बिचरो उसको परिस्थिति पनि त्यही रहेछ, जुन परिस्थितिमा म थिएँ । अनि उसका भावना र संवेगहरू पनि तिनै रहेछन्, जुन भावना र संवेगमा म बगिरहेकी थिएँ । ठाउँ, धर्म, जाति र लिङ्गको कुरो के नै रहेछ र ! मन त आखिर सबैको एउटै हुँदो रहेछ ।
अस्तिकै कुरा त हो, मैले आफूले खाई–नखाई गरेर जम्मा गरेको पैसा भएजत्ति जम्मा पारेर लोग्नेलाई पठाइदिएँ । मलाई आफ्नो छोरोलाई काठमाडौँको त्यो सबैभन्दा राम्रो र महँगो स्कुलमा पढाउने ठूलो धोको थियो । खासमा भन्ने हो भने त्यही स्कुलमा पढाउनकै लागि पनि मैले विदेसिनु परेको थियो । होइन भने दुई छाक त जसले पनि खाएकै हुन्छ नि । तर मनुले त छोरोलाई त्यहाँको एउटा सामान्य बोर्डिङ्ग स्कुलमा पो भर्ना गरिदिएछ । यो कुरो थाहा पाएपछि म छक्क परेकी थिएँ । “होइन, छोरालाई त्यो स्कुलमा किन भर्ना नगरिदिएको” भनेर मैले मनुलाई सोधेँ । पहिले त उसले छोरोले त्यो स्कुलमा भर्नै पाएन भनेर मलाई ढाँट्यो । मैले त्यो कुरा पत्याउँदै पत्याइन । पोहोर त्यहाँको छनोट परीक्षामा हाम्रो छोरो त्यहाँ दोस्रो भएको थियो । पहिलो हुने बच्चालाई त्यहाँ सित्तैमा पढाइने रहेछ । यसपालि त झन् पहिलो नै भएको रहेछ, तैपनि उसलाई त्यहाँ मनुले भर्ना गराएन । कुरो बुझ्दा त होस्टलमा खर्च बढी लाग्छ भनेर पो उसले छोरोलाई त्यो स्कूलमा भर्ना नगराएको रहेछ ।
त्यो कुरो सुनेर म छक्कै परें । आखिर छोराको पढाइलाई कुर्कुस्त पुग्ने गरी मैले पैसा पठाएकी थिएँ, तैपनि फेरि किन छोरोलाई सामान्य स्कुलमा हालेको भनी सोध्दा मनुले लाजै पचाएर “अलि–अलि पैसा मलाई खर्च गर्न पनि त चाहिन्छ नि” भन्यो । त्यो सुनेर मलाई किन–किन आफ्नो लोग्नेसँग साह्रै वितृष्णा लागेर आयो ।
लोग्नेको नकच्चरोपनले विरक्तिएको मनमा उसले त्यो तीन वर्ष पनि नपुगेकी मेरी सानी छोरीलाई पनि छोरोसँगै त्यही स्कुलमा होस्टलमै राखिदियो भन्ने सुनेर झन् आघात परेको थियो । बिचरी मेरी छोरी, आमाको काख त छुट्यो–छुट्यो,आफू विदेसिएपछि छोरीको भाग्यबाट घरको न्यानो पनि छुटेछ ।
त्यो खबरले म भित्रसम्म मर्माहत भएँ । त्यसैले त्यो दिन म साह्रै विचलित भएकी थिएँ । मेरो ध्यान काममा पटक्कै थिएन । काम गर्दा म घरी–घरी अलमलिई राखेकी थिएँ । म कहिले भर्खरै डिसवासरबाट झिकेको भाँडा फेरि त्यहीँ राख्दिरहिछु , कहिले पुछिसकेका प्लेटहरूलाई रुमाल लिएर फेरि पुछ्न थाल्दिरहिछु । रुँदा–रुँदा मेरा आँखाका डिलहरू रातै भइसकेका रहेछन् ।
मेरो बिथोलिएको मनको चालामाला अब्दुलले बुझिराखेको रहेछ ,त्यसैले त काम सकिएपछि ऊ पनि मसँगसँगै मेरो घरमै आयो । उसको घर म बसेको घरभन्दा खासै टाढा थिएन ।
अब्दुलको सान्त्वनाका शब्दहरूले त्यतिखेर मेरो मनमा लगाइरहेको संयमको बाँध पूर्ण रूपमा भत्क्यो । म धकै नमानी अब्दुलको अगाडि रोइदिएँ । मलाई आफ्नो लोग्नेको छोटो व्यवहारले साह्रै मन दुखेको थियो । त्यही दुखाइको आवेगमा मैले त्यो पराई देशमा एउटा सह्दयी तर पराई व्यक्तिसँग आफ्नो लोग्नेसँग चित्त दुखेका कुराहरू गरेँ । मलाई थाहा थियो एउटा व्यक्तिसँग आफ्नो मान्छेको कुरा गर्नु हुँदैन भनेर, तर के गर्नु त्यतिखेर म अवश थिएँ ।
मेरो कुरो सुनेर अब्दुल बिचरो गर्न नै के सक्थ्यो र ! उही मेरो कुरामा “त्यही त” र “कठै” भन्नु बाहेक उसले मेरो लोग्नेको क्रियाकलापबारे केही भन्न पनि त मिल्दैनथ्यो । त्यसैले मेरा बलिन्द्रधारा बगेका आँसुलाई आफ्नो हत्केलाले पुछ्नबाहेक उसले त्यो बेला मलाई अरू कुनै सान्त्वना दिन सकेन ।
तर त्यही हत्केला र गालाको क्षणिक स्पर्शले नै त्यसबेला हामी दुईको मन–मनको ढोका खोलिदिएछ । त्यही त्यतिबेलाको स्पर्शले आगतमा हुन पुगेको शारीरिक सम्बन्धको बाटो खोलिदिएको रहेछ ।
त्यसपछि बिस्तारै–बिस्तारै अब्दुल मनको बाटो हुँदै मेरो शरीरसँग नजिकिंदै गयो, अनि कसरी हो कुन्नि, थाहै नपाई मेरो लोग्ने मेरो मनबाट टाढिदै गयो ।
आजकाल त किन हो कुन्नि मलाई आफूले जन्माएका आफ्ना ती दुई अबोध सन्तानको पनि उस्तो सम्झना आउँदैन । के भएको त्यस्तो ? मलाई छक्क लाग्छ । आफ्नै सन्तानको माया पनि मनबाट हराएर जाला त ? होइन भने किन आफ्नै छोराछोरीको मायामा मेरो मुटु चस्किदैन आजकाल ?
सके नयाँ बनेको सम्बन्धले पुरानो सम्बन्धमा बिस्तारै विस्मृतिको धूलो ओछ्याउँदै लगेको पो हो कि !
सोचाइका यिनै तरङ्गमा रुमल्लिदै अनायासै मेरो हत्केलाले यसो ओछ्यान छाम्न पुग्यो, त्यहाँ मेरो छेउको ठाउँ अझै तातै थियो । मेरो मन त्यसै–त्यसै पग्लिएर आयो । मृदु भएर मैले तकिया र ओछ्यानलाई सुम्सुम्याई राखेँ, मानौँ म अझै अब्दुललाई नै सुम्सुम्याई राखेकी छु । रातभरि अँगालोमा बेरेको अब्दुलको न्यानोले मलाई अझै पनि छोडेको थिएन । अघि भर्खर छचल्किएको आनन्दको तरङ्गले जीउ सगबगाउन अझै छाडेको थिएन । मेरो मनमा झसङ्ग भयो । कतै मनु पनि कतै यसैगरी अहिले कसैसँग सुतिरहेको त छैन ? छ्या ! मैले के सोचेको होला ? त्यो कल्पनाले मेरो मनमा ईष्र्याको हलुको संवेग उम्रियो । रिसको तरङ्ग क्षणिक रूपमा उठ्यो । भावावेशमा मुटुको ढुकढुकी बढेर गयो । तर अन्तरआत्माले तुरुन्तै चोर औँलो ठड्यायो “अनि तँ आफूचाहिँ के गरिराखेकी छेस् नि ?”
केहीगरी मनुले अब्दुलसँगको मेरो सम्बन्ध थाहा पायो भने के होला ? कुरोको परिणाम सम्झिएर मेरो मन त्यसै–त्यसै गलेर आयो । अब्दुलसँगै यसैगरी आनन्दको मातमा लठारि“दै सुतिराखेको बेला अकस्मात् मनु त्यहाँ आइपुग्यो भने उसले के गर्ला ?”
नचाहेरै पनि मनले गरेको त्यो प्रश्नले मेरो मन विचलित पा-यो । साँच्चि त्यस्तो परिस्थिति आइलाग्यो भने मनुको प्रतिक्रिया कस्तो होला ?“म तँलाई यत्ति धेरै माया गर्छु, विन्ती छ तँ मलाई छोडेर यो को को मान्छेसँग नजा ।”मनुले आफूलाई छोडेर म अव्दुलसँग जाउँला भन्ने डरले त्यस्तो भन्ला कि ?
अथवा, पराई पुरुषसँग सुतिरहेकी स्वास्नीलाई जगल्ट्याउँदै ओछ्यानबाट झारेर “तँ जस्ती कलङ्किनीलाई आज म नमारी छाड्दिन । तँ जस्ती रण्डीलाई आमा भन्नु त मातृत्वकै अपमान हो । तँजस्ती बेस्सेको सन्तान कहलिनु भन्दा बरु मेरा छोराछोरीहरू आमाविहिन भएकै वेस । तँ अब हाम्रो लागि मरिस्, तँ बिर्सेर पनि अब उप्रान्त हाम्रो जीवनमा आउने चेष्टा नगरेस् ।”
पछिल्लो कल्पनाले मलाई त्यसै–त्यसै मनमा अत्यास लागेर आउँछ । म जेजस्तो भए पनि मनु र आफ्ना छोराछोरीको जीवनबाट आफू अलग्गिएको सोच्न पनि सक्दिन । उनीहरूलाई आफ्नो जीवनबाट मिल्काएर अब्दुलको एकलौटी भएको कल्पना पनि गर्न सक्दिन । मलाई दुवै चाहिन्छ, आफ्ना परिवार पनि अनि अब्दुल पनि ।
तर के त्यस्तो सम्भव हुन्छ ? के अब्दुलसहितको मलाई मेरो परिवारले अपनाउँछ ? अनि होइन भने अब्दुलले मलाई जीवनभरिको लागि अपनाउला त ? तर ऊ आफ्नो परिवारलाई अति नै माया गर्छ । आफ्नो अँगालोमा मलाई बेरिरहँदा पनि ऊ आफ्नो परिवारकै कुरा गरिरहेको हुन्छ, आफ्नी पत्नीकै रूपरङ्ग र गुणहरूको बखान गरिरहेको हुन्छ । त्यस्तो मान्छेले सबैकुरो छोडेर आफूलाई अपनाउला भनेर त म सोच्न पनि सक्दिन ।
उसोभए यस्तो सम्बन्धको परिणति के हो ? के गर्ने ? जे भयो भयो भनेर आजैदेखि अब्दुलसँगको सम्बन्धलाई पूर्णविराम लाउने ? अनि त्यसो गरेपछि व्यक्तिवादिताले गाँजेको यो सिमेन्ट र कङ्क्रिटको जङ्गलमा फेरि मलाई आफ्नो भनेर माया गर्ने को होला ? आफ्ना मान्छेहरूबाट यति टाढा म कसैको माया बिना एक्लो यान्त्रिक जीवन बाँच्न सकुला र ? अहँ ! त्यस्तो जीवन त म सोच्न पनि सक्दिन ।
ओहो ! भगवान् तिमीले मलाई जीवनको यो कस्तो भुमरीमा पारिदियौ ? मेरो जीवनको लक्ष्य के हो ? मेरो जीवनको गन्तव्य के हो मैले त पहिल्याउनै सकिन । हे भगवान् ! परिस्थितिले मलाई कुन मोडमा ल्याइपु-याएको हो ? आफ्नै देशमा सुखी र सन्तुष्ट जीवन बाँच्दै आएकी मलाई आज आएर परिस्थितिले कुन भुमरीमा हालिदियौ ? यस्तो भुमरीबाट म कसरी सकुशल उम्किने होला ? यस्तो असहज परिबन्दबाट के म सहजै निस्केर आउन सकुला र ?
मलाई एकदम डर लागेर आउँछ । परिस्थितिले मलाई महाभारतको अभिमन्युमा पो परिणत गराए झैँ लाग्दछ । बिचरा ! अभिमन्यु, पस्नलाई त ऊ चक्रव्यूहमा सजिलैसँग पस्न सकेको थियो, तर जेलिएको चक्रव्यूहबाट ऊ निस्कन सकेन । अन्ततः मृत्युले मात्र उसलाई चक्रव्यूहको त्यो महाजालबाट मुक्त ग-यो ।
मलाई छक्क लाग्छ, महाभारतमा अभिमन्युलाई चक्रव्यूहमा पस्ने एकातिर त वाध्यता थियो भने अर्कोतिर युद्ध विजय गरी आफू महानायकमा दरिने चरम अभिलाषा । तर मेरो त त्यस्तो कुनै महत्वाकाङ्क्षा थिएन । जीवन धान्ने वाध्यात्मक परिस्थितिको अधीनमा परेर मात्रै म यो चक्रव्यूहमा होमिएकी हुँ । अब त्यहाँबाट निस्कन नसकेपछि मेरो जीवन कुन खाडलमा जाकिने हो ?
जति सोचे पनि आफ्नो अल्झेको जीवन सम्याइदिनका लागि कसलाई गुहार्ने ? मैले सोच्नै सकिन । त्यो महा–महानगरमा मेरो आफ्नो भन्नु एउटा अब्दुल नै छ । ऊबाहेक मलाई माया गर्ने भनुँ कि मेरोनिम्ति सोचिदिने अरू कोही व्यक्तिको म कल्पना पनि गर्न सक्दिन । अब जे त होला । यसबारे भोलि अब्दुलसँगै कुरा गर्नु पर्ला ।
आफूले सुल्झाउनै नसक्ने अल्झोलाई परिस्थितिकै भरमा थाती राखेर म फेरि निदाउने उपक्रम गर्दछु ।