• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरुको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्नुभएको हो ।

उहाँले सरकारले गठन गरेको छानविन समितिले मन्त्रीको कमजोरी औंल्याएको भन्दै मन्त्रीलाई अविलम्व बर्खास्ती गर्नुपर्ने बताउनु भयो । उहाँले सिपाईलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले बनाएको आयोगले निष्कर्ष निकाल्यो, सरकारको मन्त्री दोषि भन्यो । तर सरकारका मन्त्री मुख्य दोषि भनेर किटान गरेको आज २८/३० घण्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । प्रधानमन्त्रीज्युले मुख्य दोषि भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको सूचना पाएनौँ । हामी सुन्दै छौँ, सामान्य सिपाईहरुलाई कारबाहीको डण्डा अनि मन्त्रीहरुलाई उन्मुक्ति यो हुन सक्दैन । हामीले गम्भिरताका साथ सिपाईलाई डण्डा, मन्त्रीलाई झण्डा । जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यहीँ हो ? यो गम्भिर प्रश्न गर्न चाहन्छौँ । त्यसकारण अविलम्व त्यस घटनासँग जोडिएका मन्त्री र सिंगो गृहप्रशासन नेतृत्व गर्ने गृहमन्त्री पनि यसमा जोडिने अवस्था छ । यस तर्फ पनि सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि त्यो घटनामा जोडिएका मन्त्रीहरुलाई अविलम्व जिम्मेवारीबाट हटाइयोस् । बर्खास्ती गरियोस् ।’

सचेतक बर्तौलाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छानविन गरिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारको आशंकामा भएको व्यक्तिलाई मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुँगा रटाइ भाषण सुन्न आफूहरु तयार नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल