१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम

सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम
अ अ+ अ-

फिक्कल । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रसस्तै निजी विद्यालयहरु पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका पढाउन सहर नै पस्नुपर्ने अवस्था भए पनि इलामको चुलाचुली गाउँपालिकामा त्यस्तो बाध्यता छैन ।

गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि त्यस्तो बाध्यता हटेको हो । चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा आधारभूत तह कक्षा–५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाई हुन थालेपछि बालबालिकालाई अङ्ग्रेजी माध्यम पढाउनकै लागि शहर पसेका अभिभावकहरु समेत गाउँ फर्कन थालेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढ्न थालेको छ ।

सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने र अभिभावकको चाहना अङ्ग्रेजीमाध्यम बन्दै गएकाले सरकारी विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । “अङ्ग्रेजी माध्यमबाट पढाउन अब अभिभावकहरुले निजी विद्यालयको भर पर्नु पर्दैन”, अध्यक्ष केरुङले भन्नुभयो, “स्थानीय सरकारले अभिभावकको अङ्ग्रेजी माध्यमको चाहनालाई मध्यनजर गर्दै सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो ।”

गाउँपालिकाले प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन अनुदान कोटामा शिक्षक दिएको छ । अङ्ग्रेजी माध्यमका लागि गाउँपालिकाले २५ जना निजी शिक्षक नियुक्त गरी अनुदान दिँदै आएको छ । सबै विद्यालयमा पूर्वप्राथमिक तहमा निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र युकेजी कक्षासमेत सञ्चालन गर्दै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले नि:शुल्क पाठ्युस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ ।

शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने योजनाअनुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताउनुभयो । “सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै विद्यायमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले शिक्षक अनुदान दिएको छ”, उहाँले भन्नुभयो, “अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउन थालेका तथ्याङ्क प्राप्त भएको छ ।” अङ्ग्रेजी माध्यमबाट अध्यापन भएपछि निजी विद्यालय र सरकारी विद्यालयमा फरक नहुने समाजमा स्थापित हुँदै गएको समेत उहाँले बताउनुभयो ।

आफ्ना छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्न पाएपछि अभिभावकहरु समेत खुसी भएका छन् । हुन त धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरु देखासिखी वा फेसनका रुपमा भएपनि चर्को शुल्क तिर्न बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा पढाउन पाउने भएकाले आजभोलि अभिभावकहरु निकै खुसी हुनु स्वभाविक हो ।

चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेकाले आफूलाई निकै खुसी लागेको बताउनुहुन्छ । उहाँले थप्दै भन्नुभयो, ‘‘न्यून आय भएकाहरुलाई सरकारी स्तरबाट गरेको यो प्रयास सह्रानीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’’ त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुसी लागेको बताउनुभयो । उहाँले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि आफ्नो निजी विद्यालय पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याउनुभएको छ ।

धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलई गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क तिरेर निजी विद्यालयमा पठाउन बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरु खुसी भएका हुन् । सरकारी विद्यालयमा अङग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्या समेत बेढको वडा नं। १ कमलस्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउनुहुन्छ । ‘‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि झण्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’’ उहाँले भन्नुभयो, ‘‘कतिपय अभिभावकहरुले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर समेत यहाँ ल्याएका छन् ।’’

चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाई केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा पाँच हजार विद्यार्थी अध्ययरत रहेको गाउँपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । उता निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् ।

शैक्षिक संरचनामा रु छ करोड बढी लगानी

चुलाचुली गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्नका लागि जनप्रतिनिधि र कर्मचारी तल्लीन छन् । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ । शैक्षिक सुधारका लागि पछिल्लो दुई वर्षमा रु छ करोड बढीको विभिन्न शैक्षिक संरचनाहरु तयार भएका छन् । गाउँपालिकाका सात वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने दुई वटाको निर्माण सम्पन्नको चरणमा रहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिनुभयो ।

वडा नं २ स्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा ९सिभिल इन्जिनियरिङ० को पढाई भइरहेको छ । स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाको पढाई सुरु गरिएको प्रधानाध्यापक लक्ष्मीश्वेरप्रसाद बनबरिया यादवले बताउनुभयो । सो विद्यालयमा सिभिल इन्जिनियरिङका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छ ।

सो विद्यालयलाई गाउँपालिकाले स्कूल बस उपलब्ध गराएको छ । रु ४१ लाख ६९ हजारमा स्कूलबस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘हामी सरकारी विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा जुटेका छौँ’’ अध्यक्ष केरुङले भन्नुभयो, ‘‘सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीसहित अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’’

गाउँपालिकाबाट विद्यालयलाई स्कूल बस प्राप्त भएपनि सम्पूर्ण सञ्चालनको जिम्मा विद्यालयले नै लिएर सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताउनुभयो । बसको सुविधाले छिमेकी जिल्ला झापाको दमक, केर्खालगायत क्षेत्रबाट आउने विद्यार्थीसमेत लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायत जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गर्दछन् ।

चार विद्यालयमा लिम्बू भाषा पठनपाठन 

त्यस्तै, चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा समेत लागू गरेको छ । चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं। ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिनुभयो ।

गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक/एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । रासस