२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.64

Wind: 2.57

Humidity: 38

Latest
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो-महासचिव पोखरेल गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधि सभाको तयारी समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त नारायणहिटी दरबार अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन – फोटोफिचर पूर्वराजाप्रति माधव नेपालको टिप्पणीः कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकको आकर्षणको केन्द बन्दै बागलुङको बेलढुङ्गा



अ+ अ-

ढोरपाटन । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ ।

समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् । बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला–संस्कृतिसँग रम्न सामुदायिक घरबास ९होमस्टे० रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ ।

दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि गत माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आएको उहाँको भनाइ छ । अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको जनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको उहाँको भनाइ छ । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताउनुभयो ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उहाँ बताउनुहुन्छ । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको रु दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ । पोहोर साल देउराली डाँडाबाट बेलढुङ्गासम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुङ्गा बिच्छ्याएको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो ।

“पहिलेको तुलनामा अहिले बेलढुङ्गाको स्वरुप नै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरूले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निकै बढेको छ, हामीलाई निकै उत्साहित बनाएको छ”, श्रीसले भन्नुभयो, “यहाँ अझै थप संरचना बनाउनुपर्ने छ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।”

पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ । बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ । लामो समय बुटवल बसेर बिदामा जन्मघर पर्वत आउनुभएका विशाल घिमिरेले आफूहरू १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताउनुभयो ।

यसभन्दा अगाडि एकपटक पारिवारिक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाइले धित नमरेपछि यसपटक साथीहरूसँग आएको उहाँको भनाइ छ । घिमिरेले बेलढुङ्गामा घण्टौँ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाउनुभयो । बेलढु्गालाई रमाइलो गर्ने स्थलका साथै योगाश्रमका रूपमा विकास गर्न सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “जल, जङ्गल, जमिन, हिमाल, पहाडलगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्छ, मलाई यो ठाउँ प्राकृतिक उपचार केन्द्रजस्तो लाग्यो, पहिलोपटक आउँदा धेरै घुम्न पाएको थिइनँ, तर यसपटक धेरै समय बसियो, यहाँको प्रकृतिसँग रमाइयो, फेरिफेरि पनि आउने छौँ ।”

कास्की नयाँ पुलबाट घुम्न आउनुभएका वीरेन्द्र जोशीले सामाजिक सञ्जालमा भिडियो र तस्बिर देखेर घुम्न आएको सुनाउनुभयो । छ जनाको टोली गलकोटको मूर्तिकलासम्म घुम्ने गरी यात्रामा निस्किएको भन्दै पहिलो दिन बागलुङको बञ्जीजम्प, दोस्रो दिन बेलढुङ्गा र तेस्रो दिन गलकोट नगरपालिका–५ टेवास्थित मूर्तिकलामा पुगेर फर्किएको बताउनुभयो । बेलढुङ्गाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको उहाँको भनाइ छ । रासस