१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न
अ अ+ अ-

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो । यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिए । “विदेशमा बस्ने मेकरले चलचित्र बनाएपछि नेपालमा पनि प्रदर्शनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, चलचित्र बनाउनुभन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कति वटा हल छ रु नेपाली चलचित्रको मार्केट कति हो ? दर्शकले कस्तो चलचित्र रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,” उनले बताए ।

अध्यक्ष केसीले चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र लिने नहुने तर्क गरे । चलचित्रले देशको संस्कृतिदेखि पर्यटन प्रवर्द्धनसम्म ठुलो भूमिका खेल्ने बताउँदै चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्ने बताए । नेपाली भाषा बोल्ने प्रवासको समुदाय नै नेपाली चलचित्रको प्राथमिक दर्शक रहेको जनाउँदै उनले भने, “चलचित्रले कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धन गर्छ । हामीले चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्छ । संसारभरका मानिसले हाम्रो भाषा बोलुन्, हाम्रो संस्कृतिलाई अपनाउन, हाम्रा कलालाई सम्मान गरुन् । अनि बल्ल नेपाली चलचित्रले केही छलाङ मारेछ भन्ने महसुस हुन्छ । त्यसका लागि हामी आफैँले आफ्नो देशको चलचित्रलाई माया गर्नुपर्छ । पहिले हाम्रो चलचित्र हामीले हेर्ने बानीको विकास गर्नुपर्छ ।”

अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्ने बताए । यसको सुरुवात बेलायती बजारबाटै गर्न आफूले पहल गर्ने जिकिर गरे ।

अन्तर्क्रियामा बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरूले बोर्ड र समुदायसँग आफ्ना गुनासाहरू राखे । उनीहरूले युकेको बजारमा नेपाली चलचित्रको विस्तारको पहलको लागि रहेका जटिलताहरूका बारेमा प्रस्ट पारे । चलचित्र रिलिज गर्दा दर्शक नपाएको स्मरण गर्दै बेलायतमा रहने नेपाली समुदायले नै नेपाली चलचित्रलाई प्राथमिकता नदिएसम्म नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सम्भव नहुने उनीहरूले औँल्याए । विदेशी चलचित्रलाई प्राथमिकतामा नराखी नेपाली चलचित्रलाई विश्वमाझ पुऱ्याउनको लागि उल्लेख्य दर्शकको जरुरी रहेको उनीहरूले बताए । अन्तर्क्रियामा चलचित्रकर्मीहरूसहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा यस वर्ष नेपालबाट एकेडेमी अवार्ड ९अस्कर०मा सिफारिस भएको तथा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शन गरिएको थियो । त्यस्तै, नेपाललाई प्राकृतिक रूपमा नै खुल्ला छायाङ्कन स्थलको रूपमा विश्वव्यापी प्रचार गर्न चलचित्र विकास बोर्डले तयार गरेको श्रव्य दृश्य सामग्री प्रदर्शन भएको थियो । साथमा, चलचित्र विकास बोर्डले एक डेस्क राखी विभिन्न जानकारीहरू प्रदान गरेको थियो ।

कार्यक्रम अन्तर्गत दोस्रो दिन आइतबार बेलायतका लागि नेपाली राजदूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल भएको थियो । सो क्रममा बेलायतमा नेपाली चलचित्रको उपस्थितिलाई बलियो बनाउन गर्नुपर्ने आधारभूत कामहरूको विषयमा छलफल भएको थियो । नेपाली चलचित्र र बेलायतको बजारबिच दूतावासले पुलको रूपमा काम गर्न सक्ने, बेलायतमा नेपाली चलचित्रको प्रवर्द्धनमा दूतावासले गर्न सक्ने सहयोग तथा दूतावासले नेपाली कला र संस्कृतिको लागि सम्पर्क व्यक्ति तोक्ने लगायत दीर्घकालीन प्रभाव हुनसक्ने विषयमा राजदूत आचार्यले सकारात्मक प्रतिक्रिया दिँदै आफूले गर्न सक्ने काम अगाडी बढाउने बताए । राजदूत आचार्यसँग चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले छलफल गरेका थिए ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमवार ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग नेपाली चलचित्रले ब्रिटिस फिल्म इन्स्टिच्युट ९बिएफआई० सँग गर्नसक्ने सहकार्य, नेपाली चलचित्र बेलायतमा छायाङ्कन गर्दा प्राप्त हुने सुविधाहरू, पुरानो प्रविधिमा बनेका चलचित्रहरूको संरक्षण, डिजिटाईजेशन र ती चलचित्रहरूलाई सहज रूपमा सर्वसाधारणमाझ पुर्‍याउन बिएफआईले चालेका कदमहरूको विषयमा जानकारी लिइएको थियो । सो क्रममा बिएफआईका कल्चरल पार्टनरसिपका प्रमुख रोबिन बेकर, एग्निएस्का मूडी, डेल्फिक नेपालका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्डका प्रतिनिधि निराजन गिरी, नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टरका संयोजक सनम कुमार बैरागको उपस्थिति थियो । बोर्ड अध्यक्ष केसीले बिएफआईबाट प्राप्त सुझाव र अवधारणाका आधारमा सहकार्य, डिजिटाईजेशन र सर्वसाधारणको सहज पहुँचको लागि पहल गर्ने बताए ।

नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएलले नेपाली चलचित्रले छ दशकको यात्रा गरिरहेको सन्दर्भलाई लिएर आगामी दुई वर्ष नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा क्रमश: विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जाने बताए । “बेलायतसँग नेपालको सदिऔँ लामो मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ । जसको कारण यहाँ नेपालीहरूको उपस्थिति पनि बलियो छ । यस कारण पनि डेल्फिकले पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम बेलायतमा गरेको हो । आगामी दुई वर्षभरि अन्य थुप्रै मुलुकहरूमा विभिन्न कार्यक्रमहरू गर्नेछौँ”, बिएलले बताए । उनले यस्ता कार्यक्रमबाट नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि लिने गति बढ्ने र नीति निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । बिएलले नेपाली चलचित्र, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय विकासको लागि नेपाली डायस्पोराले नै अग्रसरता लिनुपर्ने जिकिर गरे ।

कार्यक्रमको विषयमा बोल्दै नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रको प्रवर्धन चलचित्रकर्मीमाझ मात्र गरेर नहुने जिकिर गरे । उनले आम समुदायमा चलचित्रको संस्कृति र चेतना जगाउन आवश्यक रहेको बताउँदै यसको लागि अन्तर्राष्ट्रिय समुदायमा नेपाली चलचित्र हेर्ने संस्कृतिको बानी बसाउन सके मात्र नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन सक्षम हुने बताए । उनले डेल्फिक काउन्सिलले हरेक क्षेत्रमा कलात्मकता हुन्छ भन्ने अवधारणा राख्ने जनाउँदै बताए, “हामीले चलचित्र, सङ्गीत, चित्रकला जस्ता क्षेत्रहरूलाई मात्र कलाको रूपमा चिन्ने अवधारणा नै गलत हो । कला बिनाको कुनै क्षेत्र हुँदैन । यसर्थ डेल्फिकले सबै क्षेत्रलाई कलात्मक तवरले समेट्छ ।” उनले आगामी दिनमा नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताए ।