• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

पीडितलाई अन्याय हुने गरी स‌ङ्क्रमणकालीन न्यायको काम हुँदैन : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छा विपरीत गएर नटुङ्गिने बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको ओलीले बताउनुभयो । मानवअधिकार एलाइन्सले मंगलबार आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडित माथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने बताउनुभयो ।

ओलीले माओवादी अध्यक्ष प्रचण्ड र का‌ंग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बत्ताउनुभयो । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको उहाँका भनाइ छ । हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ‌ओलीले आपत्ति जनाउनुभयो । टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको ?’, ओलीले प्रश्न गर्नुभयो ।

आफू सरकारमा रहँदा सङ्क्रमणकालीन न्याय टुङ्ग्याऊँ, पीडितलाई न्याय दिऊँ भनेर लागेको भए पनि उहाँहरूले बेवास्ता गरेको ओलीले बताउनुभयो । ‘उहाँहरूलाई नचाहिँदासम्म वास्ता गर्नुहुन्न, चाहिएपछि भोली नै टुङ्ग्याउनु पर्‍यो, पर्सिनै टुङ्ग्याउनु पर्‍यो भन्नुहुन्छ’, ओलीले भन्नुभयो । अहिले पनि सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भनेर एमालेले भनिरहेको उहाँले बताउनुभयो । तर पीडितलाई अन्याय हुने गरी यो विषय टुङ्ग्याउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । ओलीले पहिला सत्य निरूपण गरेर त्यस पछि मात्र त्यसको निरूपण गर्नुपर्नेमा जोड दिनुभयो । मारिएको व्यक्ति फिर्ता नआउने भए पनि सबैभन्दा पहिला पीडितलाई चित्त बुझ्ने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनु पर्ने ओलीको धारणा छ । नेपालले हिंसाको अति जटिल अवस्था पार गरेर आएको ओलीले बताउनुभयो । ‘हिंसा किन भयो, कसका लागि भयो कसैले पुष्टि गर्न सकेको छैन’, उहाँले भन्नुभयो ।

शान्तिपूर्ण ढङ्गले सरकारमा पुगेर देश र जनताको पक्षमा काम गर्न सकिने अवस्था हुँदा हुँदै माओवादीले हिंसात्मक आन्दोलन सुरु गरेको ओलीको धारणा छ । ‘हिंसा बिसाएर फेरी आउनु पर्‍यो, हिंसा बिसाएर त्यही प्रणालीमा आउँदा केमा फरक परेको थियो’,उहाँले भन्नु भयो । माओवादीले २०५२ बाट सुरु गरेको हिंसा २०६३ सालमा छाडेर आउँदा चुनाव नलडी भाग लिएर माओवादी संसद् र सरकारमा पुगेको ओलीले बताउनुभयो । त्यही व्यवस्थामा सत्तामा पुग्न १७ हजार मानिस किन मारिए भन्ने कुराको जवाफ माओवादीले दिन नसकेको ओलीले टिप्पणी गर्नुभयो । माओवादीको हिंसाकै कारण विदेश जाने लहर सुरु भएको ओलीले बताउनुभयो ।

द्वन्द्वको बेला हिंसात्मक पक्ष र राज्य पक्ष दुवैले मानिसको क्रूर किसिमले हत्या गरेको उहाँको भनाइ छ । जम्मा सत्ता, सरकार र सांसद लिनको लागि माओवादीले देश ध्वस्त बनाएको उहाँले टिप्पणी गर्नुभयो । मानव अधिकार उलङ्घनकर्ताले आफ्ना कमजोरी लुकाउन अनेक कुरा गर्ने बताउनुभयो । त्यसका विरुद्ध निर्भीकताका साथ लड्ने साहस चाहिने उहाँले बताउनुभयो । नेपालका मानव अधिकारकर्मी त्यो आँटका साथ अघि बढेका भन्दै ओलीले प्रशंसा गर्नुभयो । नेकपा एमालेको नीति राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घनको गर्ने नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमालेले मानव अधिकार उलङ्घन गर्दैन, मानव अधिकार उल्लङ्घनको पक्षमा उभिँदैन, मानव अधिकारको उलङ्घनकर्तालाई संरक्षण गर्दैन’, उहाँले भन्नुभयो । एमालेको मानव अधिकार संरक्षणको पक्षमा ऐक्यबद्धता रहेको ओलीले प्रष्ट पार्नुभयो । ‘हामी सधैँभरि तपाईँहरूको साथमा छौँ’, ओलीले भन्नुभयो ।

नेपाली जनताको शान्तिको चाहनाले हिंसा र मानव अधिकार उलङ्घनको कहालीलाग्दो अवस्थालाई अन्त्य गरेको ओलीले बताउनुभयो । अनर्गल कुरा गरेर, पश्चगामी र प्रतिगामी कुरा गरेर देशमा अशान्ति मच्चाउने कुरा उचित हुनै नसक्ने उहाँले बताउनुभयो । अहिले देशमा विभिन्न नाममा यस्ता खालका अनुचित क्रियाकलाप भएका ओलीले बताउनुभयो । विविधतामा एकता नै नेपालको पहिचान भएको ओलीले बताउनुभयो । एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा अघि बढेको, मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्त गर्नका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु पर्ने ओलीको धारणा छ ।