• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो: राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,”– उहाँले भन्नुभयो ।

देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँंले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

“गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उहाँले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्नुभयो ।

समारोहमा बागमती प्रदेशका पर्यटनमन्त्री पुकार महर्जनले वैदिक सनातन संस्कृतिसँग जोडिएको गार्गी गुरुकुल विद्याश्रमको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले गार्गी गुरुकुलको विकासका लागि प्रदेश सरकारले रु ४५ लाख सहयोग गर्ने आश्वासन दिनुभयो । महायज्ञका लागि प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्ने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनुु दाहालले कन्यालाई नैतिकवान र योग्य नागरिक बनाउनका लागि गार्गी गुरुकुलबाट सहयोग पुग्ने बताउनुभयो । उहाँले गार्गी कन्या गुरुकुलको विकासका लागि भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक डा गोविन्द टण्डनले नारीलाई आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले २०७५ सालमा गार्गी कन्या गुरुकुल विद्याश्रम स्थापना गरिएको जानकारी दिनुभयो । आजदेखि सुरु भएको श्रीमद् भागवतमहायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ । रासस