२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक: देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उहाँहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकको विशेष समयमा सांसद कुमार दसौदीले जनतालाई आशा र विश्वास जगाउने कार्यक्रमका लागि सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिले गति लिन सक्नुपर्छ । कहाँ कहाँ के के समस्या छन्, त्यो खोज्नु पर्छ । जनताको आशा जगाउने काम गर्नुपर्छ । जनता विदेश गएका गयै छन्, जनता निराश छन् ।” सांसद दसौदीले जनताका मुद्दा उठान गर्दा सरकारले कार्यान्वयन नगरेको गुनासो गर्नुभयो ।

सांसद जीतेन्द्रनारायण देवले देशको परिस्थितिप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । “राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण, गम्भीर र सङ्कटपूर्ण छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेका छाँै, समाजवादतर्फउन्मुख हुने प्रतिबद्धता गरेका छौँ । ती सबै कुरा राजनीतिक शक्तिका लागि चुनौती बनेका छन्”, उहाँले भन्नुभयो । उहाँले समग्र देशको हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद नरबहादुर विष्टले थुपै्र काम गर्दा गर्दै पनि भ्रष्टाचार र गरिबीले आक्रान्त भइरहेकोप्रति सरकारलाई सचेत गराउनुभयो । उहाँले चुनौतीबीच सरकार सार्वजनिक सेवाप्रवाह सहज बनाउन सक्षम भएको बताउनुभयो ।

“जनताले लाइन बसेर गर्नुपर्ने काम सहज भएको छ । राहदानी विभाग, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालयजस्ता ठाउँमा लाइन बस्नुपर्दैन”, उहाँले भन्नुभयो, “सुधारका थुप्रै काम हुँदाहुँदै चुनौती छन् ।” सांसद विष्टले सरकारी जग्गा हड्पनेक्रम रोक्न ध्यानाकर्षण गराउनुभयो । उहाँले नीतिगत भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले आफ्ना प्रयत्न बढाउनुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले शान्ति प्रक्रियाको काम चाँडो टुङ्ग्याउन माग गर्नुभयो । उहाँले युवा र महिलालाई सरकारको काममा प्रत्यक्षरुपमा जोड्न नसकेको उल्लेख गर्दै आउने अधिवेशनमा लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न व्यवसायीलाई बाँकी भुक्तान समयमै गर्नका लागि उहाँले सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद नारायणप्रसाद दाहालले राष्ट्रियसभाको मर्यादा र गरिमा बढाउनका लागि सरकासँगै स्वयं सांसदहरुले ध्यान दिनुपर्ने बताउनुभयो । जनताका मुद्दा र राष्ट्रको समृद्धि केन्द्रमा राखेर काम गरे मात्र जनप्रतिनिधि पनि स्थापित हुनसक्ने उहाँको भनाइ थियो ।

यस्तै सांसद दिलकुमारी रावल थापाले भ्रष्टाचारको अनुसन्धान तथा कारबाहीका लागि प्रभाव र दबाबमा नपर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “सरकार जनताको अभिभावक हो । सरकारको भूमिका कार्यकारी हो । सरकारलाई जनताका सवाल, राष्ट्र र राष्ट्रियताको सवाल, जनजीविकाको सवालमा संसद्प्रति जवाफदेही तथा उत्तरदायी बनाउने कर्तव्य सांसदहरुकै हो”, उहाँले भन्नुभयो, “सरकार जवाफदेही बनोस्, सरकारले भ्रष्टाचारका फाइल खोल्दा अनुहार नहेरियोस्, प्रभाव र दबाबमा नपरियोस् भन्ने प्रतिपक्षको मान्यता हो ।”

सांसद थापाले युद्धग्रस्त क्षेत्रबाट नेपाली नागरिकलाई तत्काल फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र हजार नेपाली नागरिक रुसी सेनामा भर्ना भएको सुनिन्छ । युद्धग्रस्त क्षेत्रमा फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न कूटनीतिक पहलका लागि सरकारसमक्ष माग गर्दछु ।”

सांसद राधेश्याम पासवानले संविधानअनुसार तत्काल आवश्यक ४० कानुन निर्माणका लागि ढिलाइ गर्न नहुने बताउनुभयो । सरकारको आलोचना मात्र नगरेर सुशासन र समृद्धिका लागि एकसाथ काम गर्नुपर्ने उहाँको भनाइ थियो । रासस