काठमाडौ । बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके – २०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।
मंगलबार नेपाल पर्यटन बोर्डले बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल हुनुभएकोमा उहाँको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो
सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताउनुभयो ।
सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताउनुभयो । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उहाँको भनाई छ ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिनुभएको साह लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । बिहिबार मात्रै काठमाडौं आउनुभएको उहाँलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।











