२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद किनबेचको चर्चा : के राजनीति २०५२ सालतिर फर्कंदैछ ?



अ+ अ-

पजेरो काण्ड, सांसद खरिद बिक्री, सांसदलाई सुरा र सुन्दरी, झण्डै ५० जनाको जम्बो मन्त्रिमण्डल अनि वर्षदिन नपुग्दै सरकार ढाल्ने र बनाउने फोहोरी खेलहरु । हिजोका संसदीय राजनीतिका विकृतिहरु हुन् यी । 

जसका कारण आजसम्म पनि नेपालका राजनीतिक दलहरु, नेताहरु जनताका नजरमा राम्रो कहलिन सकेका छैनन् । यो विसं २०५२ तिरको विकृतिले नेपालको राजनीतिमा नराम्रो अभ्यास भित्र्यायो । यतिसम्म कि सांसद, मन्त्री बन्नका लागि मानिसले जेजस्तो काम पनि गर्न तयार हुने भए ।

त्यतिमात्र होइन, तत्कालीन नेकपा माओवादीले संसदीय व्यवस्थालाई नराम्रो देखाउन दिने उदाहरण पनि यीनै हुन् । प्रचण्ड बाबुरामको नेतृत्वमा उनीहरुकै शब्दमा भएको जनयुद्धका क्रममा उनीहरुले नेपालको संसदीय व्यवस्थामाथिका खराबीहरु खोज्ने भरमग्दुर प्रयत्नहरु गर्दथे । 

यसकारणले नेपालमा संसदीय प्रतिश्पर्धात्मक राजनीतिक व्यवस्था ठिक छैन भनेर उनीहरुले आफ्ना कार्यकर्ता तथा क्याडर मात्र होइन कि तत्कालीन सरकारहरुले शान्तिपूर्ण रुपमा वार्ताको टेबलमा आउन र प्रजातान्त्रिक व्यवस्थामा सहभागी बन्न गर्ने आग्रहहरुमा पनि उनीहरुले देखाउने यो व्यवस्थाका कमजोरी र विकृति पनि यीनै हुन् ।

यही नाममा माओवादीहरु उनीहरुकै शब्दमा जनयुद्ध लडे । कम्तीमा १७ हजार नेपालीको ज्यान गयो र भने अरु हजारौँ बेपत्ता भए । कैयौँ परिवार घरबारबिहीन भए, देशको आर्थिक सामाजिक अवस्था थला परेको कुरा त सबैमा जगजाहेर नै छ । 

यद्यपि, माओवादीहरु शान्ति प्रक्रियामै आए र संविधान सभामा सहभागी भए । पछि काँग्रेस एमालेको सहभागितामा नयाँ संविधान पनि तयार भयो र यसमार्फत् देश संघीय गणतन्त्रमा गयो । यही अनुरुप आज प्रादेशिक संरचनामा गएको छ र तीन तहका सरकार छन् । 

तर आज आउँदा पनि विसं २०५२ को त्यो बिकृतिले नेपालको राजनीतिलाई छोड्न सकेको छैन । आज पनि ती बिकृति यद्यापि देखिँदैछन् जसले जे प्रयोजनका लागि देशमा सशस्त्र विद्रोह भयो, संविधान सभाको निर्वाचन भयो र आज यसरी देश संघीयतामा गयो ती सब बरु झन्बढी फिक्का बन्दैछन् । 

आज राजधानीबाट छापिएका कैयौँ नेपाली अखबारमा यो बिकृति पोखिएको छ । नेपाल करिब २५ वर्षअघिको राजनीतिक बिकृतिमा प्रवेश गरिसकेको छनक देखिएका मात्र होइन ती अखबारले ऐनाजस्तै छर्लंगै पारिदिएका छन् । किनभने आगामी आइतबारबाट शुरु हुने संसद बैठकमै लगभग सांसद किनबेच गरेर आफ्नो पक्षमा बहुमत देखाउने फोहोरी खेलको पुराबृत्ति हुने लक्षण स्पटै देखिएको छ । 

प्रधानमन्त्री केपी ओलीले गएको पुस ५ गते विघटन गरेको संसद सर्वाेच्च अदालतले पुनस्र्थापना गरेपछि अब नेकपाका सांसदबीच नै किनबेचको अफर खुला भएको हो । यता नेकपाको ओली पक्षले संसदीय दलमा आफ्नो पक्षमा बहुमत छ भनेको छ भने उता माधव नेपाल र प्रचण्ड पक्षकाले पनि त्यही भनिरहेका छन् । 

आजसम्म त भने तर अब भने मत हालेरै संख्या देखाउनुपर्ने दिन आएको छ । आगामी आइतबार संसदको बैठक बस्दै छ । त्यही बैठकमै पहिलो खेल यसैबाट शुरु हुदैछ । पहिलो खेलको फ्रन्ट लाइमा नेकपाकै नेताहरु छन् र स्वयं उनीहरु नै आफ्नो पक्षमा बहुमत सांसदको संख्या पुर्याउन सांसदहरुलाई पैसा र पद अफर गर्दैछन् । 

हुनत आजका दिनसम्म यो पछिल्लो खेलमा काँग्रेस सहभागी भएको देखिएको छैन । तर पनि यो गलत प्रक्रियाले संसदमै प्रवेश पाएपछि भोलि यो सरुवा रोगबाट काँग्रेस अछुतो रहन पनि गाह्रो पर्ने देखिँदैछ । 

संसद पुनस्र्थापना भएपछि यसअघि प्रधानमन्त्रीमाथि विश्वास छैन भनेर दाहाल नेपाल समूहले गत पुस ५ गते संसदमा दर्ता गरेको प्रस्ताव प्रक्रियामा छिर्न सक्छ । त्यसपछि प्रधानमन्त्रीले यो अविश्वासको प्रस्तावको सामना गरेर विश्वास लिनु, दिनुपर्नेछ । यो पहिलो चरणको खेल खासमा यसैका लागि हो । 

हुनत यसपछिको सेमिफाइनल र फाइनल खेलहरुको पटाक्षेप पक्कै होला नै । तर त्योभन्दा अगावै यो विकृतिले अहिलेको संसदमा प्रवेश पायो भने यो संसदको अवधि आगामी दुई वर्षसम्म नै संसदीय स्वास्थ्यमा देखा पर्नसक्ने रुग्णताले धेरैतिर गाँज्नसक्ने जस्तो देखिँदैछ । 

यसैले बुढी मरी भन्ने भन्दा पनि काल पल्क्यो भन्ने पिरमा अब धेरै पिरोलिने स्पष्ट देखिँदैछ । आखिर सधैँ सबैतिर यस्तै संसदीय व्यवस्था हो भने गणतन्त्र या अरु विभिन्न नामका तन्त्रहरुको आवश्यकता किन रह्यो र ? अनि यस्तो व्यवस्थाले नै शासित हुनुपर्ने हो भने यो वा त्यो नाम र स्वरुपले जनआन्दोलन गर्नुपर्ने आवश्यकता किन पर्यो र ? यही मेसोमा जनताको यक्ष प्रश्न यो छ कि– के अब देश विसं २०५२ तिरकै संसदीय विकृतिमा फर्किन लागेको हो ?