काठमाडौ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दीक्षान्त समारोहमा मुलुकका शिक्षामन्त्री प्रमुख अतिथिका रुपमा पुग्छन्, दिक्षान्तको गाउन लगाउँछन् र भाषण दिन थाल्छन् । तर उनले शिक्षासम्बन्धी केही भन्दैनन्, विद्यार्थीलाई कुनै हौसला, प्रेरणा या शिक्षा दिँदैनन् ।
बरु यस्ता शब्द प्रयोग गर्छन्, कोठालोमा समात्ने, सडकमा पछार्ने, कुनै माइकालाल, आदि आदि । अनि कतै कतै टुटेफुटेको अंग्रेजी पनि मिसाउँछन् र भन्छन् केपी ओली इज केपी ओली ।
अनि विद्यार्थी अक्क न बक्क पर्छन् । जब देशका शिक्षामन्त्रीले आफ्नो भविष्य, नेपालमा शिक्षाको अवस्था, सरकारको नीतिबाट प्राप्त गर्नसक्ने कुनै सुविधा आदिको अपेक्षा गर्दछन् । त्यसमा मन्त्री प्रवेश नै गर्दैनन् बरु शुरु गर्छन् केपी ओली इज केपी ओली ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफूलाई शक्तिशाली शिक्षामन्त्रीका रुपमा प्रस्तुत गरे र प्रधानमन्त्री ओलीलाई कुनै पनि माइकालालले हटाउन नसक्ने व्यक्तिका रुपमा हातको बडो हाउभाउ देखाउँदै रिसाहा स्वरुपमा भाषणा दिइरहे ।
विद्यार्थी भने मुखामुख गर्छन, केही बोल्न सक्दैनन, मन्त्रीले के भनेका होलान् भन्छन् अनि कुनैबेला आफैतिर त कुनै बेला मन्त्रीतिर हेर्न थाल्छन् ।
उनले भन्दै जान्छन्, हामीलाइ अब कसैले सरकारबाट निकाल्न सक्दैन । सर्वाेच्चका तीन जना न्यायाधीशको आदेश पालना गरिदिउँला, संसद पुनस्र्थापना, चुनाव आदि आदि ।
विद्यार्थीले यो कुनै कुरामा चासो नराखेको कुरा उनीहरुका नाक निचोरेबाट पनि स्पष्टै थाहा हुन्छ । तर मन्त्री रोकिँदैनन् । रत्नपार्क ठानेर भाषणा दिइरहन्छन् ।
मुलुकका शिक्षामन्त्रीले एउटा कलेजको दिक्षान्त समारोहमा विद्यार्थीलाई सम्बोधन गर्दा कस्तो भाषण गरेका रहेछन् भन्ने भिडियो तपाईँले पनि सुन्नु भयो भने तपाईँलाई टिठभन्दा अरु केही लाग्नेछैन भन्ने हामीले अनुमान मात्र गर्न सक्छौँ ।











