काठमाडौं । गृह मन्त्रालयले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । सरकारले २८ फागुन २०७५ मा विप्लवमाथी प्रतिबन्ध लगाएसँगै उनीहरुलाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।
तर सरकारले विप्लव समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए ।
विप्लव समूहले वार्तामा बस्नु अगावै आफुहरुमाथीको प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।











