काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ।
आज (बिहीबार) बिहान बालुवाटारमा वार्तामा रही विप्लव समूह र सरकारबीच सहमति भएको हो। साथै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहमा एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएको छ।
यस्तो छ सहमति:
''नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् ।
सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लव ले सम्बोधन गर्नुहुने छ ।''












