२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियन अधिकारको कुरा नराखौँ: मन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताउनुभएको छ ।

मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताउनुभएको हो । उहाँले विधेयकमा ट्रेड युनियन सम्बन्धी व्यवस्था नगरिएको भन्दै फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताउनु भयो । उहाँले कर्मचारीको विषयमा छलफल गर्न सकिने भएपनि कर्मचारीको काम, कर्तव्य र अधिकारमा ट्रेड युनियनको अधिकार दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विधेयकमा कहीँ पनि ट्रेड युनियन सम्बन्धी व्यवस्था छैन । व्यवस्था नभएको कुरालाई किन उप्काउने भन्ने हो । कर्मचारी युनियन बन्नुपर्छ भन्ने कुरा कतैकतै आएको भए गम्भिरतापूर्वक सोच्नुपथ्र्यो । अघि माननीयज्युहरुले भनेजस्तै हामीले दुरुपयोग गरेर समस्या भएको हो । सदुपयोग गरेको भए केही समस्या हुँदैन थियो । कर्मचारीको विषयमा कहीँ त्यस्तो लेखेको रहेछ भने कर्मचारीसम्बन्धी दफालाई हेरौँला । भएन भने काम, कर्तव्य, अधिकारमा त्यो उल्लेख नगरौँ भन्ने आग्रह गर्न चाहन्छु ।’

बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद विद्या भट्टराईले ट्रेड युनियन अधिकार संविधानले प्रदान गरेको अधिकार भएको बताउनु भयो । उहाँले ट्रेड युनियन अधिकार नहुँदा कर्मचारीहरुले आफ्नो पीडा र समस्या राख्ने ठाउँ नहुने भन्दै कर्मचारीहरुको अधिकारलाई हनन गर्नु नहुने बताउनु भयो । कर्मचारीहरुको नागरिक अधिकारको हनन गर्नु नहुने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ट्रेड युनियनको अधिकार भन्नेकुरा संविधानले पनि प्रदत्त गरेको अधिकार हो । तर हामीले ट्रेड युनियन अधिकारको परिभाषा आज राजनीतिक हिसावले दिन नसकेको कारण समस्या भइरहेको छ । हामीले राजनीतिक अधिकार र ट्रेड युनियन अधिकारको परिभाषा गर्न सकेका छैनौँ । जसले गर्दा समस्या भइरहेको छ । आज ट्रेड युनियनहरु दलिय अधिकारलाई स्थापित गर्न खोलिएका छन् । त्यसकारण हामीले ट्रेड युनियन अधिकारलाई हनन गर्न पाउँदैनौँ भन्ने लाग्छ । कर्मचारी नागरिक पनि हो । उसको अधिकार हनन नगरौँ ।’

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद महेश बर्तौलाले सुरक्षण मुद्रणमा काम गर्न कर्मचारीहरुको छुट्टै संयन्त्र बनाउनुपर्ने बताउनु भयो । सुरक्षण मुद्रणको विषय राष्ट्रको गौरवसँग जोडिने भन्दै उहाँले यसमा गोपनीयता र विश्वसनीयता कायम गर्न कर्मचारीको छुट्टै संयन्त्र गर्नु आवश्यक भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘सुरक्षण मुद्रणसँग सम्बन्धित काम भनेको राष्ट्रको गौरवसँग पनि जोडिएको विषय हो । यसमा विश्वसनीयता, गोपनीयता हुनुपर्छ । त्यसप्रकारले विशेष ख्याल पुर्‍याउन सकिएन भने यसले गम्भिर असरहरु पार्नसक्छ । त्यो पक्षमा ख्याल गरौँ । डेडिकेटेड कर्मचारीको टिम यहाँ चाहिन्छ । सुरक्षाको हिसावले, संवेदनशीलताको हिसावले, विश्वसनीयताको हिसावले पनि छुट्टै कर्मचारीको संयन्त्र चाहिन्छ । त्यसो गर्दा कर्मचारीको मनपरी हुनसक्छ । त्यहाँ अर्को बद्मासी हुन्छ भन्ने खतरा पनि हेर्नुपर्छ ।’

उहाँले कर्मचारीको विशेष संयन्त्र बनाउँदा कर्मचारीहरुको बद्मासी र मनपरी पनि हुनसक्ने भन्दै त्यसतर्फ पनि कानून बनाउँदा विचार पुर्‍याउनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल