२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि संसदको हिउँदे अधिवेशन, शिर्ष तीन दलहरुको तयारी के छ ?



अ+ अ-

काठमाडौँ । संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सोमवारदेखि शुरु हुदैछ । संसदको हिउँदे अधिवेशन शुरु हुने पूर्वसन्ध्यामा दलहरुले आ–आफ्नो तयारी पनि गरिरहेका छन् ।

कतिपय दलहरुले यस बीचमा संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ । दलहरुले संसदको यस अधिवेशनमा गर्ने कामहरु, दलको तर्फबाट प्रश्तुत गर्ने विषयहरु तथा सांसदहरुले राख्ने विषयहरुको सम्बन्धमा आ–आफ्नो तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रश्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरुले पहिलो मुद्दा बनाउने बताउनु भयो । उहाँले देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले निरन्तर रुपमा सशक्त ढंगले आवाज उठाउने बताउनु भयो । उहाँले अहिले देशको राष्ट्रिय स्वाधिनता इतिहासमा सबभन्दा कमजोर स्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको विषयलाई पनि प्रमुख एजेण्डा बनाउने बताउनु भयो । धेरै भन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न संसदलाई केन्द्रित गराउने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘धेरै भन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न संसदलाई केन्द्रित गर्नुपर्नेछ । त्यसका लागि हाम्रो तर्फबाट सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्छौं । मुलुकलाई चाहिने असल नीतिहरु, असल कानूनहरु निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हो । त्यो दायित्वलाई हामी गम्भिरताका साथ लिएर त्यो काममा हामी केन्द्रित हुन्छौँ । मुलुकमा भ्रष्टाचार व्याप्त छ । जनतामा व्यापक निराशा बढेको छ । आम युवा पुस्ताले नेपालमा आफ्नो भविष्य देख्न छोडिसकेको अवस्था छ । यो सबै सरकारको अकर्मण्यताको कारणले भएको हो । सरकारको असफलताको कारणले, सरकार जनताप्रति जवाफदेही नभएको कारणले, जनताप्रति उत्तरदायी नभएको कारणले यि समस्याहरु आएका हुन् । त्यसकारण यो विषय पनि अब सदनभित्र एकदम सघन ढंगले उठाउँछौँ ।’

‘सुशासनको मुद्दा अब हाम्रो पहिलो मुद्दा हुन्छ । सशक्त र निरन्तर रुपमा हामीले सुशासनको मुद्दा उठाउँछौँ । समृद्धिको मुद्दालाई पनि सँगसँगै उठाउँछौ । देशको विकास, सुशासन र समृद्धिको सवाल किन सरकारको प्राथमिकतामा पर्न सकेन ? सदनमा यि मुद्दाहरु पनि उठाउँछौँ । अर्को कुरा, देशको राष्ट्रिय स्वाधिनता इतिहासमा सबभन्दा कमजोर स्थितिमा छ । अहिले सरकारले देशको राष्ट्रिय स्वाधिनता, हाम्रो सार्वभौमसत्ता, विकास, सुशासन र समृद्धिका मुद्दाहरुमा सरकार जुनखालको अवस्थामा उभिएको छ, जस्तो सरकारको अकर्मण्यता छ, यो विषय अबको सदनको पहिलो विषय बन्छ । प्रमुख एजेण्डाका साथ हामी प्रश्तुत हुन्छौँ ।’

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदले कानून बनाउने काम पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताउनु भयो । उहाँले विगतमा सरकारले संसदलाई भुमिका बिहिन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी पनि दिनुभयो । सरकारले संविधान र कानून विपरित गरेका गतिविधिहरुको संसदमार्फत भण्डाफोर गरिने पनि उहाँले बताउनु भयो । उहाँले पनि देशको स्वाधिनता, सार्वभौमसत्ता र स्वाभिमान माथि नै प्रश्न उठ्नेगरी विदेशीहरुले नेपालको मञ्च प्रयोग गरिरहेको भन्दै यसमा पनि संसदबाट खबरदारी गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विशेषगरी आगामी संसद प्रभावकारी बन्नुपर्छ । संसदले काम पाउनुपर्छ । सरकारले संसदलाई भुमिका बिहिन बनाउने, काम नदिने जुनखालको रवैया हामीले यो बिचमा देख्यौँ । आगामी दिनमा पनि यही खालको निरन्तरतामा यदि लान खोज्यो भने त्यसको हामी सशक्त प्रतिवाद गर्छौं । संसदले कानुन निर्माण गर्नुपर्छ । कानून निर्माणको काम सांसदहरुले पाउनुपर्छ । यसमा मुख्यतया हामीले ध्यान दिनेछौँ । दबाब र खबरदारी गर्नेछौँ । आज स्वाधिनता र सार्वभौमसत्ता, स्वाभिमान माथि नै कयौँ प्रश्नहरु सिर्जना गर्नेगरी विदेशीहरुले आफ्ना स्वार्थ पूरा गर्न नेपालको मञ्च प्रयोग गरेको कुरा सत्य हो । यो पाटोमा गम्भिरताका साथ सदनमा हामीले खबरदारी गर्नेछौँ । कानून र संविधान विपरित सरकारका समग्र गतिविधिको संसदमार्फत सशक्त आवाज उठाउँछौ । भण्डाफोर गर्नेछौँ ।’

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले आगामी विधेयकहरु पनि महत्वको आधारमा ल्याउने बताउनु भयो । सरकारले कति विधेयकहरु ल्याउन सक्छ, त्यसमा पनि पार्टीभित्र लेखाजोखा हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कति विधेयक सरकारले ल्याउन सक्छ, त्यसमा हामी लेखाजोखा गर्छौं । त्यसमा पनि महत्वपूर्ण टिआरसी विधेयक छ । मनी लाउण्डरिङ विधेयक छ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक पनि आउँदैछ । त्यसमध्ये पनि अहिले देखिएको टिआरसी विधेयक र मनी लाउण्डरिङ विधेयकलाई विशेष केन्द्रबिन्दुमा राखेको पनि छ । अब आउने विधेयकहरु कुन–कुन महत्वपूर्ण हो त्यसमा विशेष छलफल पछि गर्नेछौँ ।’

नेपाली काँग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानून निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै ऐन, कानूनहरु अझै नबनेका भन्दै ति कानूनहरु बनाउन ध्यान पुर्‍याइने बताउन भयो ।

उहाँले भन्नुभयो – ‘अबको संसदको मुख्य भुमिका भनेको कानून निर्माणको कामलाई विशेष प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ । हामीले अघिल्लो संसदमा जतिपनि कानूनहरु पारित गर्नुपथ्र्यो त्यो गर्न सकेनौँ । त्यसका लागि हामी क्षमाप्रार्थि पनि छाँैँ । कतिपय विधेयकहरु समितिमा छलफलका क्रममा छन् । ति कानूनहरु यथाशिघ्र हामीले संसदबाट पारित गर्नुपर्छ । सरकारका अति आवश्यक पर्ने कानूनहरु जो निर्माण गर्नुपर्ने छन्, संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित कतिपय ऐन, कानूनहरु अहिले पनि बनेका छैनन् । अहिले हामीले यो अधिवेशनलाई विशेषगरी कानून निर्माणको काममा नै बढी समय खर्चिनुपर्छ भन्ने मलाई लाग्छ ।’

सत्तारुढ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने बताउनु भयो । आगामी अधिवेशनमा सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडी बढाइने बताउनु भयो । आगामी आर्थिक वर्षका लागि बजेटलाई नयाँ तरिकाले लैजानका लागि पनि छलफल केन्द्रित गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो अधिवेशनलाई व्यवस्थित र विधेयक केन्द्रीत बनाउने गरेर सोचिरहेका छौँ । कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गर्नेबारे हामी सोचिरहेका छौँ । असाध्यै महत्वपूर्ण विधेयकहरु छन् । त्यसमध्ये टिआरसी सम्बन्धी विधेयक छ, विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीयता कार्यान्वयनसँग सम्बन्धित निजामती कर्मचारी सम्बन्धी विधेयकहरुकाबारे अलि गतिका साथ अगाडी बढाउनुपर्ने भनेर सोचेका छौँ । बजेटलाई नयाँ तरिकाले लैजाने भन्ने बारेमा पनि छलफललाई केन्द्रित गर्नेछौँ भने जनताका समस्याहरुलाई सदनमा उठाउनुका साथसाथै सरकारको काम जुन सकारात्मक रुपमा अगाडी बढिरहेका छन्, तिनका बारे पनि चर्चा गर्ने । मन्त्रीहरुलाई सरकारका काम बारे सदनमा आएर जानकारी गराउने सोचिरहेका छौँ ।’

संसदमा जनताका समस्याहरुलाई उठाउने र सरकारले गरेका सकारात्मक कामहरुको चर्चा गर्ने पनि उहाँले बताउनु भयो । त्यस्तै, मन्त्रीहरुलाई सरकारको कामका बारेमा संसदमा आएर जानकारी दिन लगाउने पनि उहाँले जानकारी दिनुभयो ।

विक्रम रत्न—सुरज प्रधान/न्युज एजेन्सी नेपाल