• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अमेरिकी संसद्को तल्लो सदनमा डा ह्यारीको उमेदवारी



वाशिङ्गटन डिसी (अमेरिका) : मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गर्नुभएको छ ।

उहाँको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताउनुभयो ।

अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहनुभएका डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय इकाईतर्फ अगाडि बढाउनुभएको हो । कंग्रेसमेनको रुपमा उमेदवारी घोषणा गर्नुभएका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउनुहुने छ ।

यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गर्नुभएकाले यसलाई खुला सिटको रुपमा लिइएको छ । ह्यारीले उमेदवारी दिन लाग्नुभएको स्थान उहाँले डेलिगेटमा दुई पटक विजयी भइसक्नु भएको स्थानमा पर्दछ । तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिसमेत हुनु भइसकेको छ । तर डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ ।

त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नुहुनेछ भन्ने विषय पनि पेचिलो रहने छ । ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ ।

नेपाली समुदायको आपत् विपत्मा सदैव अग्रपङ्क्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिनुहुने ह्यारीले राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु ।

ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ । कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोराना महामारीको बेलामा दिवङ्गत हुनुभएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उहाँको टोलीले भूमिका निर्वाह गरेको थियो ।

ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याउनु भएको दसँै बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दसँै डे भनेर समेत मनाउन थालिएको छ ।

नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याउनु भएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आउनु भएको छ । नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन् ।रासस