चितवन । कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लकअन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना शुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र पर्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउतेलगायत कर्मचारीलाई तालीम दिइँदै छ ।
गणनामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात÷आठवटा हात्ती परिचालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।
सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपाल र जेडएसएल नेपाललगायत सङ्घसंस्थाको सहयोगमा गणना गरिँदैछ । हरेक ५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा उक्त गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने बरालले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढी छ । गणनापछि ती गैँडालाई बासस्थान व्यवस्थापन गरी पूर्वमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको बरालले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ थिए ।
सरकारले पहिलोपटक सन् १९९४ मा गैँडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गणना भएको अधिकारीले जानकारी दिनुभयो ।
राजश्वको छुट सुविधा फागुनसम्म : आन्तरिरक राजश्व कार्यालय भरतपुरले आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । आर्थिक ऐनले दर्ता भएर विवरण नबुझाएका र दर्ता नभएका करदातालाई फागुन मसान्तसम्ममा दर्ता गरेर कर बुझाएमा विशेष छुटको व्यवस्था गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा कुनै व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा त्यसअघिका वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुने जनाइएको छ ।
यस्तै लेखा नं लिएर विवरण पेश नगरेका वार्षिक रु ५० लाखसम्म कारोवार गर्ने व्यक्तिले गएका तीन आर्थिक वर्षको आय विवरण, आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाएमा त्यसअघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने सूचनामा उल्लेख छ । स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा माथि कारोवार गर्ने व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ । विसं २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने कर दाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने छ ।
आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारणउपर मुद्दामा गई विचाराधीन रहेकामा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा हुने कार्यालयको सूचनामा उल्लेख छ । कार्यालयले झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणमा भने छुट नपाइने जनाएको छ ।
कार्यालयका प्रमुख घनश्याम पन्थीले कर तिर्न बाँकी रहेका करदाताहरुलाई राम्रो अवसर रहेको भन्दै यसको उपयोग गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयले आर्थिक ऐन २०७७ ले गरेको छुट तथा सुविधाका बारेमा जानकारी दिन जिल्लामा १६ वटा कार्यक्रम गरिसकेको छ । जिल्लादेखि स्थानीयस्तरका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, वस्तुगत सङ्घहरु, लेखा परीक्षक, कर सहयोगीलगायतको उपस्थितिमा कार्यक्रमहरु गरिएको उहाँको भनाइ छ ।
जिल्लामा दर्ता भएर विवरण नबुझाउने दुई हजार ८०० र आयकरतर्फका ६ हजार ५०० भन्दा बढी करदाता यसबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । कार्यालयमा माघ मसान्तसम्ममा व्यक्तिगत लेखा नम्बर लिनेको सङ्ख्या ८७ हजार २३ छ । मूल्यअभिवृद्धि करतर्फ नौ हजार ५१८, आयकरतर्फ ५४ हजार ५८० र अग्रिम करकट्टीका लागि ९डब्लु प्यान० तर्फ १५४ करदाता छन् । कार्यालयले यस वर्ष रु १८ अर्ब ९१ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । माघ मसान्तसम्ममा रु आठ अर्ब ६६ करोड राजश्व सङ्कलन गरेको छ ।
चितवन मेडिकल कलेजमा ९८ भेन्टिलेटर : जटिल बिरामीको उपचारमा अत्यावश्यक हुने भेन्टिलेटर चितवन मेडिकल कलेजमा ९८ पुगेको छ । रोटरी इन्टरनेशनलले ३० वटा भेन्टिलेटर सहयोग गरेपछि कलेजमा सङ्ख्या थपिएको हो ।
यसअघि कलेजमा ६८ वटा भेन्टिलेटर रहेका थिए । तीमध्ये नौवटा बच्चाको उपचारमा प्रयोग गरिएको थियो भने अन्य विभिन्न विभागमा जडान गरिएका थिए । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेका अनुसार झण्डै रु आठ करोड पर्ने ३० थान भेन्टिलेटर रोटरी क्लब अफ चितवनको सहकार्यमा रोटरी इन्टरनेशनलबाट प्राप्त भएको हो ।
रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलका अनुसार रोटरीबाट प्राप्त भएका भेन्टिलेटरमा उपचार गराउने बिरामीका लागि शुल्क २५ प्रतिशतदेखि शत्प्रतिशतसम्म छुट गरिनेछ ।
त्यसैगरी भेन्टिलेटरबाट बचेको रकम सुधार र अन्य समाजसेवामा खर्च गरिनेछ । उहाँले भन्नुभयो, “चितवन मेडिकल कलेजले सहकार्य गरेर मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” यससँगै भेन्टिलेटरको अभावमा बिरामी राजधानी काठमाडौँ पठाउनुपर्ने बाध्यता केही हदसम्म हट्ने पौडेलको भनाइ छ ।
प्राडा न्यौपानेले एउटा भेन्टिलेटर जडान र सञ्चालन गर्न रु ५० लाख हाराहारी खर्च हुने बताउनुभयो । यस्तै क्रिटिकल केयरसम्बन्धी विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकाले ठूलो सङ्ख्यामा यसको व्यवस्थापन गर्न कठिन भए पनि कलेजले व्यवस्थापन गरिरहेको उहाँको भनाइ छ ।
नेपालमा नै यो सङ्ख्यामा भेन्टिलेर अन्य अस्पतालमा सम्भवत नरहेको भन्दै उहाँले यससँगै चितवन र छिमेकी जिल्लाका बिरामी लाभान्वित हुने बताउनुभयो ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार गत वर्ष बहिरङ्ग सेवामा चार लाख बिरामीले सेवा लिएका थिए जसमध्ये तीन लाख नयाँ थिए । यस्तै आकस्मिक ३६ हजार, भर्ना भएर उपचार लिने ३५ हजार, बीमाका ७५ हजार, जटिल शल्यक्रिया गराउनेको सङ्ख्या दुई हजार, निःशुल्क प्रसूति गराउने तीन हजार ५०० रहेको उहाँले जानकारी दिनुभयो ।
जटिल रोग भएर रु एक लाख सरकारको सहयोग पाउने ३७० जनाले सेवा लिएका छन् । निःशुल्क आठ हजारलाई डायलासिस, भरतपुर महानगरपालिकाका तीन हजार ५०० महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ३२ हजार गरीब तथा विपन्नलाई छुट सुविधा दिएको उहाँले जानकारी दिनुभयो । छुटमा मात्रै रु तीन करोड ८५ लाख अस्पतालले खर्च गरेको देवकोटाले बताउनुभयो ।
अस्पतालमा आएका बिरामीमध्ये ६१ प्रतिशत चितवनका थिए भने अन्य धेरै बिरामी नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ र मकवानपुरका रहेको उहाँको भनाइ छ । यस अस्पतालमा कतिपय रोगका बिरामीहरु काठमाडौँबाट समेत रिफर भएर आउने गरेको देवकोटाले जिकिर गर्नुभयो ।