७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्याएको तथ्यांक सार्वजनिक



file photo
अ+ अ-

काठमाडौँ । मेलम्चीमा गएको बाढी र पहिरोले करिव एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गरिएको हो । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिव ७० लाख बराबरको आर्थिक हानि, नोक्शानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिनुभयो । बाढीले प्रत्यक्ष हानी नोक्शानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययन देखाएको छ । गैर आर्थिक हानी नोक्सानी तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अध्ययनमा हामीले विशेष गरेर आर्थिक र गैर आर्थिक क्षति तथा नोक्शानीको विश्लेषण यसमा गरेका छौं । त्यसका लागि हेलम्बु र मेलम्ची नगरपालिकामा १२० वटा घरधुरी सर्वेक्षण, दुई वटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिनसक्ने व्यक्तिहरुसँग हामीले सूचनाहरु संकलन गरेर यो रिपोर्ट तयार पारेका छौं । यो चाहीँ खासमा भन्नुपर्दा नेपालमा पहिलो पटक मेलम्चीको जुन बाढी आयो २०७८ साल असार १ गते । त्यस सम्बन्धि विभिन्न अध्ययन, अनुसन्धान भइसकेका थिए । तर विशेष गरेर हामीलाई आर्थिक हिसावले घरधुरीसम्म पुगेर एउटा घरको औषत क्षति तथा नोक्शानी कति हो ? भन्ने कुरा त्यो स्तरको तथ्यांक नभइरहेको परिवेशमा हामीले त्यहीको पालिकाहरुसँग समन्वय गरेर घरधुरीमै पुगेर उहाँहरुको क्षतिको विश्लेषण गर्ने काम गरेका छौं । त्यो अर्थमा हामीले आर्थिक रुपमा एक घर बराबर लगभग ७० लाख रुपैयाँ औषतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ ।

यो भन्दा अगाडि हामीले जुन सूचनाहरु संकलन गरेका थियौं नगरपालिकाबाट । त्यो नगरपालिकाको तथ्यांकअनुसार अहिले दुई वटा नगरपालिकामा गरेर करिव ६५ अर्व रुपैयाँ आर्थिक क्षति भएको भनेर आँकलन गर्नुभएको छ । त्यो ग्यापलाई कम गर्ने जमर्को गरेको छ । अर्को महत्वपूर्ण पक्ष जुन नगदमा मूल्यांकन गर्न सकिँदैन । जसलाई हामी गैर आर्थिक क्षति तथा नोक्शानी भन्छौं । त्यसमा मानसिक समस्याहरु हुने, संस्कृति र पर्यटन सम्बन्धि क्षति हुने । र मान्छेको जीवनमा प्रत्यक्ष असर पार्ने कुराहरु पनि हामीले यसमा ल्याउने जमर्को गरेका छौ ।

जसमा एउटा सानो तथ्यांक भन्नुपर्दा चाहीँ हामीले सोधिएका मध्ये ८५ प्रतिशत भन्दा बढिले गैर आर्थिक क्षतिबाट गुज्रनुपरेको भन्ने उहाँहरुले आफ्नो धारणा राख्नुभएको थियो । यसमा चाहीँ आर्थिक हिसावले हामीले एक घरधुरी बराबर करिव ७० लाख क्षति भएको तथ्यांक विश्लेषण गरेका छौं । त्यसमा चाहीँ घर, जमिन र कृषियोग्य जमिनबाट उत्पादन हुनसक्ने वस्तुहरुको विश्लेषण गरिएको छ । गैर आर्थिकमा चाहीँ विशेष गरेर मानिसहरुको मृत्युहरु भएको, घाइते हुनुभएको र मानसिक असरहरु परेको र सामाजिक सद्भावमा विचलन ल्याउन सक्ने कुराहरुलाई पनि अध्ययनको विषय बनाइएको थियो । त्यहाँको सौन्दर्य र सूचनाको असरको बारेमा पनि विश्लेषण गरिएको थियो ।’

वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताउनु भयो । उहाँले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताउनु भयो । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिव ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले दिएको क्षति तथा नोक्शानका तथ्यांकमा टेकेर यो प्रतिवेदन ल्याएका छौं । र अन्तर्राष्ट्रिय प्राक्टिसहरुमा भएका कुराहरुलाई हामीले यहाँ समेटेका छौं । जति पनि हरितगृह ग्याँस उत्सर्जन भएका छन् । त्यो मानव सिर्जित क्रियाकलापहरुले गर्दाखेरी त्यो ग्यास उत्सर्जन भएको हो । त्यसको कारणले गर्दा तापक्रम बढेको र त्यसले विपद्का घटना घटेको र त्यसले क्षति तथा नोक्शानी गरेको भनेर जलवायु परिवर्तनको भाषामा यसरी बुझ्न आवश्यक हुन्छ ।’

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताउनु भयो । उहाँले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपूर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको पनि बताउनु भयो । मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिनुभयो ।

वातावरण अधिकृत दुलालले भन्नुभयो, ‘मेलम्ची नगरपालिकाले एउटा कार्ययोजना नै बनाएर त्यो टाईममा चाहीँ कसकसले के लस व्यहो¥यो ? व्यापारीहरुले के लस व्यहोरे, किसानहरुले के व्यहोरे ? अनि मानिसहरुको घर बगायो कि बगाएन, त्यसको आधारमा हामीले २५ हजार, २० हजार, १० हजारसम्मको ऋण प्याकेजहरु पनि दिएका छौं । त्यो हामी ८÷९ सय जनालाई उपलब्ध गराएका छौं । हालसम्म पनि नेपाल सरकारको गाईडलाईन्सले कृषि क्षति भएकाहरुलाई एक रुपैयाँ पनि दिनुपर्छ भनेर भन्दैन । तर मेलम्ची नगरपालिकाले चाँही कृषिको जग्गाहरु गुमाउनु भयो । १८८२ रोपनी जग्गा चाहीँ लस भएको छ भने १२ सय रोपनी चाहीँ सार्वजनिक जग्गा गरेर ३०८२ रोपनी जग्गा लस भएको छ । त्यसमा हामीले व्यक्तिगत रुपमा जग्गा लस हुनेहरुलाई हामीले प्रतिव्यक्ति लालपूर्जा चाहीँ १० हजार रुपैयाँ राहत उपलब्ध गराएका थियांै । अर्को मेलम्ची नगरपालिकाले चाहीँ हाल २४४ वटा घरहरु चाँही पुनर्निर्माण गरिराखेका छौं । त्यसमा चाहीँ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागत सहभागिता रहेको छ ।’

मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्शानीबारे पहिलो पटक वृहत अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ । जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको तथ्यांक संकलन गरेको हो । यसअघि मेलम्चीको आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको अध्ययन गरिएको थिएन । सांस्कृतिक र धार्मिक क्षेत्रमा परेको असरबारे पनि अध्ययन गरिएको छ । गैर–आर्थिक हानि र नोक्शानीले मौद्रिक हिसावले सजिलै मापन वा क्षतिपूर्ति गर्न नसकिने प्रतिकुल प्रभावहरूलाई बुझाउँछ । यसले समुदाय र मानव जीवनको क्षति, सांस्कृतिक र सामाजिक प्रभावहरू, जैविक विविधताको हानि, सेवाहरूको अवरोध लगायतलाई समेटेको हुन्छ । अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औंल्याएको छ ।
—न्युज एजेन्सी नेपाल