२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।

“गोठालाहरूले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ”, उहाँले भन्नुभयो, “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ ।”

चिमखोलाबाट हिँड्न सक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताउनुभयो । “पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेका छौँ ।”

उहाँका अनुसार संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताउनुभयो । सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ ।

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामानसहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटक नजिकैको ओढारमा बास बस्ने गरेका छन् । आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा सङ्केत चिह्नहरू बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताउनुभयो ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धजलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् ।

आधार शिविरबाट बाँझोबुकी–कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुईवटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजा ९रिम०ले बताउनुभयो ।

“हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ”, उहाँले भन्नुभयो, “अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन । थप बजेटको आवश्यकता छ ।”

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । रासस