४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै



अ+ अ-

म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुन:निर्माण भएको राममन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा हुँदैछ ।

मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो । देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले राससलाई जानकारी दिनुभयो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो ।

“नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुको तर्कपछि अयोध्याको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ”, नगरप्रमुख केसीले भन्नुभयो, “रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गमस्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रवद्र्धन गर्न लागेका हौँ ।”

देवशिला उत्खनन् गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर स्रोतको खोजी थालिएको छ ।

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पौलत्स्य र जडभरत ऋषिको तपस्यास्थल एवं कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गमस्थल धार्मिक हिसाबले धेरै महत्व रहेको हिन्दू धर्मगुरु जगद्गुरु हिमालय बाबाले बताउनुभयो ।

“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गरेको छ”, उहाँले भन्नुभयो, “शिला उत्खनन भएको ठाउँ धार्मिकस्थलकारुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ ।”

कालीगण्डकीलाई हिन्दू धर्मावम्बीले कृष्णगण्डकीका रुपमा चिन्ने गर्छन् । शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवान्कै प्रतीक भएको गत वर्ष शिला लिन आउनुभएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताउनुभएको थियो ।

अयोध्याको राममन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा आज देवशिला उद्गमस्थलमा पूजाआजा र एक लाख २५ हजार बत्ती बालिएको छ । देशशिला अयोध्या पुर्‍याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । रासस